काठमाडौँ । जेष्ठ महिनालाई असार मसान्तको दबाबको महिनाको रूपमा हेरिने भए पनि असार महिनालाई भने शेयर बजारका लागि सिजनको महिनाको रूपमा व्याख्या गरिन्छ । तर चालु आर्थिक वर्षको अन्तिम महिना असार लाग्दा समेत शेयर बजारले भने जस्तो गति लिन नसक्दा लगानीकर्ता निरुत्साहित बनेको देखिन्छ ।
सामान्यता असारदेखि असोजसम्मको समयलाई शेयर बजारको सिजनको रूपमा लिने गरिएको छ । यो समयमा कम्पनीहरूको वार्षिक वित्तीय विवरण प्रकाशनका साथै लाभांश समेत घोषणा गरिने भएको कारण शेयर बजारको सिजनको रूपमा यसलाई व्याख्या गरिँदै आएको छ । तर अहिले सेयर बजारका लागि आवश्यक पर्ने सबै सूचकहरू सकारात्मक रहे पनि शेयर बजारको बढोत्तरीमा अपेक्षा अनुरूपको प्रगति नहुँदा लगानीकर्ता बिच्किएका छन् ।
हाल, नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त भएसँगै बैंक तथा विज्ञहरूले बजारमैत्री गभर्नर आएको दाबी गर्दै आएका छन् । भने अर्कोतर्फ बैंकको ब्याजदर पनि घटिरहेको छ। तर, उपयुक्त वातावरण निर्माण हुँदा समेत सेयर बजारले गति लिन सकिरहेको छ । केही समय अघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट सेयर जोखिम भारको सीमामा पनि संशोधन गरेको छ।
लगानीकर्ताहरूले सेक्टर परिवर्तन गर्दै लगानी बढाउने मनसायमा रहेको देखिन्छ । जलविद्युत कम्पनीमा लगानीकर्ता झुम्मिन थालेका छन् । सूचकमा उल्लेख्य सुधार नभए पनि कारोबारमा भने क्रमिक रूपमा सुधार देखिन थालेको छ । यस किसिमको सुधारले अल्पकालीन भन्दा पनि दीर्घकालीन लगानी बजारमा भित्रिने संकते देखिएको लगानीकर्ता तथा शेयर विश्लेषक छोटेलाल रौनियारले बताएका छन् ।
आर्थिक भ्वाइससँग कुराकानी गर्दै लगानीकर्ता रौनियारले भने बैंक तथा व्यवसायी छुट्टाउने बाफिया विद्येकको नकारात्मक प्रचार, राजनीतिक हल्ला र असार मसान्तको ब्याजदरको प्रभावको कारण हालको बजार घटेको हो । तर कारोबार रकम भने सुधार देखिएको छ । यसको अर्थ बजार बढ्ने कन्फिडेन्स कायमै छ भन्न सकिन्छ । हामीले बजारको विषयमा सोच्दा छोटो रूपमा सोचेर हुँदैन दीर्घकालीन रूपमा हेर्ने हो भने बजारमा धेरै निराश हुने ठाउँ देखिँदैन । बजार छिटो र धेरै बढ्नुले फेरि उसैगरी दुर्घटना निम्त्याउने डर हुन्छ यसकारण हालको गतिले निराश बनाए पनि अन्ततः बजारले आफ्नो उचाइ वृद्धि गर्दै लैजाने प्रस्ट अनुमान लाउन सकिन्छ । यो दीर्घकालीन रूपमा ठूला लगानीकर्ताको प्रवेशको संकेत पनि हो भन्न सकिन्छ ।
हाल १२५ प्रतिशत जोखिम भारलाई १०० प्रतिशतमा झारिएको छ। यो व्यवस्था पछि सेयर बजारमा नयाँ रकम आउने र यसले बजार बढाउनमा सहयोग पुग्ने लगानीकर्ताहरूको विश्वास कायम रहेको देखिन्छ। लगानीकर्ताको विश्वास विपरीत सेयर बजारले बढेको कारण लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा हुन कि भन्ने अनुमान लाउन सकिन्छ ।
सेयर बजार अहिले साढे २६०० को आसपासमा नै घुमिरहेको छ। सेयर बजारका लागि आवश्यक सबै सूचक सकारात्मक नै भए पनि बजार बढ्न नसकेको कारणहरू मध्येमा केही कारणहरू आगामी मौद्रिक नीतिको पर्खाइ रहेको शेयर विश्लेषक नीरज गिरीले बताएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त मात्रामा तरलता कायमै रहनुको साथै, अपेक्षा अनुरूपको कर्जा प्रवाह हुन नसकेको भन्दै आन्तरिक अर्थतन्त्रको समस्याको कारण शेयर बजारमा अपेक्षा अनुरूपको बढोत्तरी नआएको गिरीको भनाई छ ।
हाल कर्जाको माग छैन, लगानीकर्ताले आगामी मौद्रिक नीति कस्तो आउला भन्ने अपेक्षा बोकेको देखिन्छ । अर्थतन्त्रको शिथिलता कायमै छ । बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरण पनि खासै उत्साहजनक देखिएको छैन । यो सबैको कारण र असर शेयर बजारमा पर्न गएको देखिन्छ । यसकारण बजारले तत्काल हाम्रो अपेक्षा अनुसारको सुधार देखाउन नसके पनि अन्ततः शेयर बजारमा सुधार नै आउने देखिन्छ । गिरीले भने
लगानीकर्ताको मनोभाव बुझ्ने गभर्नर आउनुभएको छ । लगानीकर्तामा भर्खरै यो असार मसान्तको चाप सकिएको छ । विभिन्न जालझेलबाट लगानीकर्ता बाहिरिने समय हो यसकारण अब शेयर बजारले गति लिने कुरामा कुनै दुबिधा छ जस्तो लाग्दैन । गिरीले आर्थिक भ्वाइससँग भनेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा १ खर्ब २५ अर्ब भन्दा बढीको सेयर धितो कर्जा प्रवाह भएको छ। जुन गत आवको सोही अवधिको तुलनामा ३५ अर्ब रुपैयाँले बढी हो। आगामी आर्थिक वर्षको बजेटमा गरिएको टेक एण्ड पे को नीति र बैंकर र व्यवसाय छुट्टाउने विषयमा भइरहेका छलफल कारण हुन सक्ने अन्य लगानीकर्ताको समेत दाबी रहेको छ ।
सेयर बजार अहिलेको अर्थतन्त्रकै कारणले बढ्न नसकेको लगानीकर्ताहरूको समेत धारणा रहेको छ। ‘सेयर बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ अर्थतन्त्र कमजोर भएको समयमा सेयर बजार बढ्न नसक्ने भएको कारण हालको अर्थतन्त्रको समस्याको कारण नै शेयर बजारको गति सुधार नभएको लगानीकर्ताहरूको भनाइ छ । समग्रमा शेयर बजारको सुधार बिस्तार र शेयर बजारमा तमास समस्या निराकरण गर्नमा सबै सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको लगानीकर्ता तथा जानकारहरूको ठहर छ।