काठमाडौँ। सुस्ताएको घरजग्गा कारोबार पछिल्लो समय सुधार देखिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा समेत वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार २०८२ वैशाख मसान्तसम्म बैंक वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्रमा दुई खर्ब ८१ अर्ब ५५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
जुन अघिल्लो वर्षअघिको तुलनामा ३२ अर्ब ५८ करोड ८० लाख रुपैयाँ धेरै हो । २०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाले दुई खर्ब ४८ अर्ब ९७ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
२०८२ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ६८ खर्ब ८४ अर्ब ५४ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५५ खर्ब १७ अर्ब ८५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको केन्द्रीय बैंकले उल्लेख गरेको छ । २०८१ वैशाखसम्म ६१ खर्ब ९० अर्ब एक करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब छ अर्ब ३० करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुले ६१ खर्ब ४८ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ९७ अर्ब ३५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा दुई खर्ब ३६ अर्ब ४३ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गत वैशाख मसान्तसम्म विकास बैंकहरुले छ खर्ब नौ अर्ब ४८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १९ अर्ब १४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम ३३ अर्ब ५८ करोड ७० लाख रुपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा आठ अर्ब ४२ करोड ३० लाख रुपैयाँले बढी हो ।
त्यस्तै, फाइनान्स कम्पनीहरूले गत वैशाख मसान्तसम्म एक खर्ब २६ अर्ब २५ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब ६६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा रियलस्टेट क्षेत्रमा ११ अर्ब ५३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा एक अर्ब २९ करोड १० लाख रुपैयाँले बढी हो ।







