काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनामा देशभर घरजग्गा कारोबारमा उल्लेखनीय सुधार देखिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार पुस महिनामा कुल ५१ हजार ८ सय ८८ वटा घरजग्गा कारोबार भएका छन्।

यो संख्या अघिल्लो महिना मंसिरको तुलनामा २५६ वटा बढी हो। मंसिर महिनामा देशभर ५१ हजार ६ सय ३२ वटा घरजग्गा कारोबार भएको थियो। वार्षिक आधारमा समेत घरजग्गा कारोबारमा सकारात्मक वृद्धि देखिएको छ। गत आर्थिक वर्ष २०८०र८१ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पुसमा घरजग्गा कारोबार ७.७५ प्रतिशतले वृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। गत वर्ष पुसमा देशभर ४८ हजार १ सय ५६ वटा घरजग्गा कारोबार भएका थिए।

त्यस्तै, घरजग्गा कारोबारमा सुधार आएसँगै सरकारी राजस्व संकलनमा पनि वृद्धि भएको छ। पुस महिनामा मात्रै घरजग्गा कारोबारबाट सरकारले ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। पछिल्ला महिनाहरूमा सुस्ताएको रियल इस्टेट क्षेत्र पुनः चलायमान बन्दै गएको देखिएको छ ।

कारोबारको संख्याका आधारमा हेर्दा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी सबैभन्दा अगाडि देखिएको छ। उक्त कार्यालयबाट पुस महिनामा १ हजार ७ सय ३३ वटा घरजग्गा कारोबार सम्पन्न भएका छन्। सोही कारोबारबाट सरकारले १ करोड ११ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।