काठमाडौं । विकास बैंक तथा फाइनान्स कम्पनीहरूले घरजग्गा (रियलस्टेट) क्षेत्रमा कर्जा प्रवाह बढाउँदै गए पनि वाणिज्य बैंकहरूले भने यस क्षेत्रमा कर्जा घटाउन थालेका छन्। वाणिज्य बैंकहरूको घट्दो प्रवाहका कारण समग्र बैंकिङ प्रणालीको घरजग्गा कर्जा औसतमा कमी देखिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा फाइनान्स कम्पनीहरूले रियलस्टेट क्षेत्रमा कुल २ खर्ब ७४ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कुल ७५ खर्ब ७८ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरेका थिए भने ५६ खर्ब ६४ अर्ब ८७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
घरजग्गा क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८२ करोड ९० लाख रुपैयाँले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले रियलस्टेट क्षेत्रमा मात्र २ खर्ब ७७ अर्ब ३३ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। त्यतिबेला कुल निक्षेप संकलन ६६ खर्ब ८० अर्ब ९४ करोड ९० लाख रुपैयाँ र कुल कर्जा प्रवाह ५३ खर्ब २४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ रहेको थियो।
वाणिज्य बैंकहरूको तथ्यांक अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म घरजग्गा क्षेत्रमा २ खर्ब २४ अर्ब ८४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यस अवधिमा २० वटा वाणिज्य बैंकहरूले कुल ६८ खर्ब २२ अर्ब ४९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ३५ अर्ब ७१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। घरजग्गा क्षेत्रमा वाणिज्य बैंकहरूको कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ अर्ब २१ करोड रुपैयाँले घटेको देखिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले रियलस्टेट क्षेत्रमा २ खर्ब ३४ अर्ब ५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। सो समयमा उनीहरूले ५९ खर्ब ४० अर्ब ८९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब १२ अर्ब ५१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
त्यस्तै, विकास बैंकहरूले भने चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म घरजग्गा क्षेत्रमा कर्जा विस्तार गरेका छन्। विकास बैंकहरूले यस अवधिमा रियलस्टेट क्षेत्रमा मात्र ३७ अर्ब ७१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। उनीहरूले कुल ६ खर्ब २० अर्ब ९५ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् भने कुल कर्जा प्रवाह ५ खर्ब २५ अर्ब ४३ करोड १० लाख रुपैयाँ रहेको छ।
विकास बैंकहरूको घरजग्गा कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ५३ करोड १० लाख रुपैयाँले बढेको छ। गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले रियलस्टेट क्षेत्रमा ३२ अर्ब १८ करोड ७० लाख रुपैयाँ कर्जा दिएका थिए। सो समयमा विकास बैंकहरूको कुल निक्षेप संकलन ५ खर्ब ५ अर्ब ७९ करोड ४० लाख रुपैयाँ र कुल कर्जा प्रवाह ५ खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैयाँ रहेको थियो।








