काठमाडौँ । फाइभजी प्रविधिको विस्तार अहिले विश्वभर तीव्र गतिमा भइरहेको छ । यो सेवाको पहिलो व्यावसायिक सेवा दक्षिण कोरियाले सन् २०१९ देखि थालेको हो । हाल यो प्रविधि अहिले १०० भन्दा बढी देशमा पुगिसेको छ । यस्तो विस्तार यति छिटो भइरहेको छ कि हालसम्म यसको प्रयोगकर्ताको संख्या २ अर्ब नाघिसकेको छ । जुन गतिमा यसको विस्तार भइराखेको छ, त्यो दर थ्रीजी र फोरजीको विस्तार गतिभन्दा छिटो मानिएको छ ।

फाइभजी प्रयोगकर्ताको वृद्धि दर अन्यको भन्दा बढी

थ्रीजी र फोरजीलाई १ अर्ब प्रयोगकर्तामाझ पुग्न क्रमशः १२ र ४ वर्ष लागेको थियो । जबकि फाइभजीको सुरुवात भएको ६ वर्ष नबित्दै यसका प्रयोगकर्ता २.५ अर्ब नाघिसकेका छन् ।

संसारभर कुल ३५० भन्दा बढी फाइभजी नेटवर्कहरू स्थापना भइसकेका छन् । त्यमध्ये उत्तर अमेरिकामा १८ वटा र ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा ५३ वटा फाइभजी नेटवर्कहरू विस्तार भइसकेका छन् ।

फाइभजीको विकासमा अन्य एशियाली मुलुक कहाँ छन् ?

यति बेला दक्षिण एशिया र दक्षिण–पूर्वी एसियाका धेरैजसो देशहरू फाइभीको विस्तार एवम् विकासमा अग्रसर छन् । यद्यपि नेपाल र पाकिस्तानमा भने अझै पनि फाइभजी सेवाको व्यावसायिक सुरुवात हुन सकेको छैन । जबकि चीन लगायत मुलुकले छैटोँ पुस्ताको इन्टरनेट (सिक्सजी) को विकासमा काम थालिसकेका छन् ।

दक्षिण एशियामा भारत, माल्दिभ्स र भुटानले फाइभजी सेवा व्यावसायिक रूपमा सुरु गरिसकेका छन् । भारतले सन् २०२२ मा ३.५ गीगाहर्ज र ७०० मेगाहर्ज ब्यान्डमा फाइभजी सेवा सञ्चालनमा ल्याएको हो । हाल भारतमा फाइभजी सेवा ४६० हजार साइटमार्फत सञ्चालन भइरहेको छ भने ५जी ग्राहक संख्या २७ करोडभन्दा बढी पुगिसकेको छ । यो कुल जनसंख्याको झण्डै २३ प्रतिशत हो ।

माल्दिभ्सले सन् २०१९ मै सजी सेवा सुरु गरेको थियो । त्यहाँ २.६ गीगाहर्ज, ३.५ गीगाहर्ज र ७०० मेगाहर्ज ब्यान्ड प्रयोग गरेर सेवा सञ्चालन भइरहेको छ । भुटानले सन् २०२१ देखि फाइभजीको व्यावसायिक सेवा सुरु गरिसकेको छ ।
दक्षिण–पूर्वी एसियाका आसियानका मुलुकहरूमा हालसम्म करिब १ लाख १० हजार फाइभजी साइटहरू स्थापना भइसकेका छन् भने कुल ७२ लाख ग्राहकले फाइभजी सेवा उपयोग गरिरहेका छन् ।

थाइल्यान्डले सन् २०२० मा २.६ र ७०० मेगाहर्ज ब्यान्डमार्फत फाइभजी सेवा सुरु गरेको हो । यस्तै फिलिपिन्सले सन् २०१० को जुन महिनामा नै फाइभजी सेवा सञ्चालनमा ल्यायो जसमा २.६, ३.५ र ७०० मेगाहर्ज ब्यान्ड प्रयोग भइरहेको छ । मलेसियाले सन् २०२१ देखि ३.५ र ७०० मेगाहर्ज ब्यान्डमार्फत सेवा सुरु गरेको हो । यता सिंगापुरले सन् २०२० बाट ५जी पूर्णरूपमा सञ्चालनमा ल्याएको छ ।

नेपालको टेलिकम उद्योग संकटतर्फ, फाइभजी सेवामाथि अनिश्चितताको बादल

विश्वको डिजिटल मानचित्रमा नेपालको स्थिति कमजोर

सरकारी नीति र पूर्वाधार तयारी कमजोर रहेकाले नेपालमा हालसम्म फाइभजी सेवा परीक्षण स्तरबाट माथि उठ्न सकेको छैन । प्रविधि क्षेत्रका जानकारहरू सरकारले मोबाइल फोन अपरेटरहरूलाई फाइभजी सेवामा लगानी गर्न नीतिगत सहुलियतहरू उपलब्ध गराउन आवश्यक रहेको ठान्छन् । होइन भने विज्ञान, सूचना तथा प्रविधिको अन्तर्राष्ट्रिय क्षेत्रका नेपालको छवि बिग्रँदै जाने चेतावनी पनि उनीहरूले दिएका छन् ।

यो पृष्ठभूमिमा नेपालको ढिलाइले आर्थिक विकास, डिजिटल रूपान्तरण, औद्योगिक स्वचालन र कृत्रिम बौद्धिकतामा आधारित सेवाहरूमा पछि पार्ने निश्चित छ । यदि नेपालले अब पनि फाइजी सेवा प्रारम्भ गर्न ढिलाइ जारी राख्यो भने छिमेकी राष्ट्रहरूसँगको प्रविधिक दूरी अझै फराकिलो बन्ने देखिएको छ ।