काठमाडौं । घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ ।

घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो ।

राजधानी अक्राबाट ओबुआसीतर्फ जाँदै गरेको जेड ९ हेलिकप्टरसँग सम्पर्क टुटेको जानकारी दिइएको थियो । हेली ओबुआसी दक्षिण घानाको एक प्रमुख खानी क्षेत्र हो । हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए ।

मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल अबोआग्ये रहेका छन् । यस्तै, तीन जना चालक दलका सदस्यहरूमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम–अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साह रहेका छन् ।