काठमाडौँ । गरिमा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा २५ करोड ५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा २२ करोड ५७ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ६३ करोड २२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको समान अवधिमा ६८ करोड ४४ लाख रुपैयाँ रहेको थियो। वार्षिकीकृत वितरणयोग्य प्रतिसेयर नाफा यस अवधिमा १२.८७ रुपैयाँ कायम भएको छ।

बैंकको सञ्चालन नाफा पनि वृद्धि हुँदै ३५ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३२ करोड २३ लाख रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी ९८ करोड ६८ लाख रुपैयाँबाट बढेर ९९ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

कर्जा तथा सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले राख्ने इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ३७ करोड २१ लाख रुपैयाँभन्दा घटेर ३३ करोड ३१ लाख रुपैयाँ मात्र रहेको छ। नाफा वृद्धिसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (EPS) पनि बढेर १७.६४ रुपैयाँ पुगेको छ। यद्यपि, खराब कर्जा अनुपात ३.८२ प्रतिशतबाट बढेर ४.७३ प्रतिशत पुगेको छ।

बैंकको रिटर्न अन इक्वीटी (ROE) अघिल्लो वर्षको ९.९५ प्रतिशतबाट बढेर १०.७१ प्रतिशत, र रिटर्न अन एसेट (ROA) ०.९३ प्रतिशतबाट बढेर ०.९६ प्रतिशत पुगेको छ। समीक्षा अवधिसम्म बैंकले ९० अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

अघिल्लो वर्षको यही अवधिसम्म क्रमशः ९० अर्ब ११ करोड निक्षेप संकलन र ६९ अर्ब १३ करोड कर्जा परिचालन गरिएको थियो। बैंकको वित्तीय स्थायित्व सूचकहरूमा, प्रतिसेयर नेटवर्थ १६६.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.८५ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८४७.८१ रुपैयाँ, तरलता अनुपात २९.५१ प्रतिशत, र पूँजीकोष अनुपात १३.५७ प्रतिशत कायम रहेको छ।