काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज) सम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)ले १० करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको ७ करोड ८८ लाख रुपैयाँ नाफाभन्दा ३७.४७ प्रतिशतले बढी हो।
कोषीय संरचनामा पनि कम्पनीले सकारात्मक प्रगति प्रदर्शन गरेको छ। समीक्षा अवधिसम्म महाविपत्ति कोष ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, रिटेन्ड अर्निङ ३ अर्ब ९ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटी ३० करोड ९ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको तुलनामा यी सबै सूचकहरूमा वृद्धि देखिनु कम्पनीको आन्तरिक कोषीय क्षमता मजबुत बन्दै गएको सार्वजनिक विवरणमा उल्लेख छ ।
कम्पनीले जीवन बीमा कोषतर्फ समेत वृद्धि गरेको छ । चालु वर्षको असोजसम्म जीवन बीमा कोष १ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँबाट १०.६४ प्रतिशतले वृद्धि भएको हो। बजार विस्तार, ग्राहकको विश्वास र बीमा कारोबारको स्थिर वृद्धिले जीवन बीमा कोषमा आएको बढोत्तरीलाई मजबुत बनाएको छ।
त्यस्तै, समीक्षा अवधिसम्म एलआईसी नेपालले ४ अर्ब ९८ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.९६ प्रतिशतले वृद्धि हो। त्यस्तै, खुद बीमाशुल्क ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भएको छ।
वित्तीय सूचकहरू हेर्दा कम्पनीको शेयरपुँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। वार्षिकीकृत ईपीएस बढेर ७.८८ रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो ५.९८ रुपैयाँ मात्र थियो। त्यस्तै पी/ई रेसियो १००.८७ गुणा र प्रतिशेयर नेटवर्थ १८३.३२ रुपैयाँ कायम छ। समग्रमा, नाफा, बीमाशुल्क, बीमा कोष र कोषीय संरचना सबै क्षेत्रमा सकारात्मक वृद्धि हासिल गर्दै एलआईसी नेपालले पहिलो त्रैमासमा सुदृढ वित्तीय प्रदर्शन गरेको देखिन्छ।








