काठमाडौँ। गत भदौ २३ र २४ गते भएका जेन–जी आन्दोलनका क्रममा भएका भौतिक र अन्य क्षतिको निर्जीवन बीमा दाबीमा हालसम्म करिब ३ हजार २५५ वटा दाबी प्राप्त भएका छन्। कुल दाबी रकम करिब रू. २३ अर्ब ४३ करोड ४१ लाख रहेकोमा अग्रिम भुक्तानीसहित करिब रू. ४ अर्ब २ करोड बीमितहरूलाई भुक्तानी गरिएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार, भुक्तानी विवरण यस्तो छ :

सम्पत्ति बीमा: ६९५ दाबी, कुल दाबी रकम करिब रू. १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिब रू. ३ अर्ब ९ करोड ४७ लाख भुक्तानी।

मोटर बीमा: २ हजार २९५ दाबी, कुल दाबी रकम करिब रू. ३ अर्ब ४४ करोड १० लाखमध्ये करिब रू. ८४ करोड ८५ लाख भुक्तानी।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा: २०९ दाबी, कुल रू. ५५ करोड ४ लाखमध्ये करिब रू. ६ करोड ६९ लाख भुक्तानी।

परिवहन बीमा: १२ दाबी, कुल रू. १ करोड ६९ लाखमध्ये करिब रू. ४८ लाख भुक्तानी।

अन्य बीमा: ४४ दाबी, कुल रू. ३९ करोड १८ लाखमध्ये करिब रू. ३९ लाख भुक्तानी।

यसैगरी, नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब रू. २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानी गरी दाबी प्रक्रिया अघि बढाएको छ। पुनर्बीमा कम्पनीमा हाल २ हजार ८६० वटा दाबी रहेका छन्, जसको कुल दाबी रकम करिब रू. १५ अर्ब ८१ करोड रहेको प्राधिकरणले जनाएको छ ।