सप्तकोशी सिमेन्टको उत्पादक कम्पनी सप्तकोशी सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । यसका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ ।
सम्झौतापत्रमा सप्तकोशी सिमेन्ट लि. का तर्फबाट अध्यक्ष मोना जान तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् । कम्पनीले रु. १०० दरका जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
सप्तकोशी सिमेन्ट ६०० टन दैनिक क्षमता भएको सिमेन्ट उत्पादक कम्पनी हो। कम्पनीले नेपाल गुणस्तरका मापदण्डअनुसार पिपिसी तथा ४३ / ५३ ग्रेडका ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।
एच. आर. गोयल समूहद्वारा प्रवर्द्धित यस कम्पनीले २०१८ देखि व्यावसायिक उत्पादन सुरु गरेको र निरन्तर नाफामा संचालन रहँदै पूर्वी नेपालमा करिब २०% बजार हिस्सा ओगट्न सफल भएको छ । कम्पनीले प्रस्तावित आईपीओबाट जुट्ने पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापनाका साथै हालको प्लान्ट क्षमतावृद्धिमा लगानी गर्ने जनाएको छ।








