काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुदैछ । केन्द्रीय निर्वाचन आयोगले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । मतदान भने भोलि हुनेछ ।
एमालेको नयाँ नेतृत्वको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन् ।
यसैबीच पोखरेल समुहले आफ्नो प्यानलबाट उम्मेदवार बनाउनेको सुची तयार गरेको छ । पोखरेल समुहबाट अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ ।
यसैगरी उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ ।
सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको जनाईएको छ ।
ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ ।
यता, केपी शर्मा ओली समूहले पनि पदाधिकारीको नाम करिब टुंगो लगाएको छ । अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । शंकर पोखरेल महासचिव पदमै दोहोरिने निश्चित भएको छ ।
उपाध्यक्षहरुमा विष्णु पौडेल, रामबहादुर थापा बादल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको छ । ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम टुंगो लागिसकेको छैन ।
यसैगरी उपमहासचिव पदमा विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको जनाइएको छ ।
९ सचिवमा शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको छ । ।
यता, पदाधिकारीमा आकांक्षी रहेका तर दुवै समूहमा नपरेका नेताहरुले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । सोमबार नै उम्मेदवारको दाबी विरोध, छानबिन, नाम फिर्ता सकेर अन्तिम नामावली प्रकाशन साँझ ६ बजे हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।







