काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गर्नेक्रम बढेको छ । धितो सुरक्षणमा जोखिम कम र कर्जा प्रवाह गर्न सजिलो भएकाले बैंकहरु त्यतातिर आकर्षित भएको देखिन्छ । पछिल्ला वर्षहरुमा सुनको भाउ निरन्तरजसो बढिरहेको पनि छ । यता, कर्जा लिनेहरुलाई पनि आफूसँग भएको सुन–चाँदी धितो राखेर पैसा लिन सबैभन्दा सजिलो हुने भएकाले उनीहरु पनि त्यतैतिर आकर्षित भएको अनुमान गर्न सकिन्छ ।

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनामा सम्म ८३ अर्ब ८२ करोड ८० लाख रुपैयाँ बराबरको सुनचाँदी कर्जा प्रवाह गरेका छन् । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ४५.६७ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब ५४ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यी १४ बैंकले मात्र सुनचाँदी कर्जा प्रवाह गरे

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वाणिज्य बैंकमध्ये १४ बैंकले मात्र सुनचाँदी कर्जा प्रवाह गरेका छन् । तर, ६ बैंकले भने यस्तो कर्जा प्रवाह गरेनन् । १४ बैंकमध्ये सबैभन्दा धेरै नेपाल बैंकले सुनचाँदी कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले ४० अर्ब ३० लाख रुपैयाँको कर्जा प्रवाह गरेको छ । यो रकम गत वर्षको कात्तिक तुलनामा ६०.८५ प्रतिशत धेरै हो ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको यसअवधिमा उक्त कर्जा प्रवाह ३६.३२ प्रतिशतले बढेको छ । कात्तिकसम्म यो बैंकले २९ अर्ब ४३ करोड ९० लाख रुपैयाँ सुनचाँदी कर्जा प्रवाह गरेको छ ।

यसअवधिमा प्राइम बैंकले ७ अर्ब ५९ करोड २० लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ७७ करोड ८० लाख, नबिल बैंकले २ अर्ब २५ करोड ४० लाख रुपैयाँ लक्ष्मी सनराइज बैंकले ७९ करोड ३७ लाख, सिटिजन्स बैंकले ६९ हरोड ४० लाख, माछापुच्छ्रे बैंकले २३ करोड, सिद्धार्थ बैंकले १ करोड ४० लाख, एनआइसि एसिया बैंकले, १ करोड १ लाख, प्रभु बैंकले ५० लाख, कुमारी बैंकले ४० लाख र कृषि विकास बैंकले ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छ ।

६ बैंकको कर्जा प्रवाह घट्यो

तथ्यांक अनुसार यसअवधिमा ६ बैंकको कर्जा प्रवाह घटेको छ । जसमा कृषि विकास बैंकको ७५.९२ प्रतिशत, प्रभु बैंकको ९२.८४ प्रतिशत, एनआईसी एसिया बैंकको ४७.६७ प्रतिशत, एनएमबी बंंैकको ६९.७० प्रतिशत र सिटिजन्स बैंकको १.५४ प्रतिशतलले कर्जा प्रवाह घटेको छ ।

यता, स्टान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक र सानिमा बैंकले भने कर्जा प्रवाह गरेका छैनन् ।

(रकम १० लाखमा)