काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिएको छ। विश्व अर्थतन्त्रमा अनिश्चितता, भू-राजनीतिक तनाव, मुद्रास्फीति र केन्द्रीय बैंकहरूको मौद्रिक नीतिमा आएको परिवर्तनका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित भइरहेका छन्। यसको असरस्वरूप अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ऐतिहासिक उचाइतर्फ अग्रसर भइरहेको छ भने नेपाली बजारमा पनि मूल्यले नयाँ कीर्तिमान बनाइरहेको छ।

आयातमा वृद्धि

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालले १९ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको सुन आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९३.१३ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा ६ अर्ब ७१ करोड ६ लाख रुपैयाँको मात्रै सुन आयात भएको थियो।

आयातमा देखिएको यो तीव्र वृद्धि केवल मूल्य वृद्धिका कारण मात्र नभई माग बढेको समेत स्पष्ट पारेको छ। उच्च मूल्यका बाबजुद बजारमा सुनको कारोबार सक्रिय रहनु, विवाह तथा चाडपर्वको सिजन तथा लगानीका रूपमा सुनप्रतिको बढ्दो आकर्षणले आयातमा वृद्धि भएको जानकारहरूको धारणा छ।

सुन धितो कर्जातर्फ बैंक र ग्राहक नै आकर्षित

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सुन धितो कर्जा १९.१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त अवधिमा ८४ अर्ब ८० करोड रुपैयाँ रहेको यस्तो कर्जा बढेर १ खर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा सुन धितो कर्जा १४.२ प्रतिशतले बढेको थियो भने यस वर्ष वृद्धि दर झण्डै २० प्रतिशत नजिक पुगेको छ। एक वर्षअघिसम्म प्रतितोला करिब १ लाख ५५ हजार रुपैयाँ आसपास रहेको सुनको मूल्य हाल ३ लाख रुपैयाँ नाघिसकेको छ। मूल्य दोब्बरजस्तै भएपछि एउटै परिमाणको सुनबाट पाइने धितो मूल्य स्वतः बढेको छ। यसले ग्राहकलाई तुलनात्मक रूपमा बढी कर्जा लिन सक्ने अवसर दिएको छ भने बैंकका लागि पनि धितोको मूल्य सुरक्षित र उच्च बनेको छ।

किन बढ्यो सुन धितो कर्जाको आकर्षण ?

बैंकिङ प्रणालीमा अन्य क्षेत्र जस्तै उद्योग, निर्माण, रियल इस्टेट तथा साना–मझौला व्यवसायतर्फ कर्जा माग सुस्त बन्दै गएको अवस्थामा सुन धितो कर्जा आकर्षक विकल्पका रूपमा अघि आएको देखिन्छ। त्यसका साथै, सुन धितो कर्जामा आकर्षण बढ्नुमा जोखिम तुलनात्मक रूपमा कम हुनु, धितो मूल्य स्थिर तथा बजारयोग्य हुनु , असुली प्रक्रिया सरल र छिटो हुनुको साथै तरलता व्यवस्थापन सहज हुने लगायतको देखिएको छ ।

तरलता सहज बन्दै गएपछि बैंकहरूले सुरक्षित तथा कम जोखिमयुक्त कर्जामा प्राथमिकता दिन थालेका छन्। यस्तो अवस्थामा सुन धितो कर्जा बैंकहरूको पोर्टफोलियो सन्तुलनका लागि उपयुक्त साधन बनेको देखिन्छ।

अर्थतन्त्रमा देखिएको संकेत

एकातिर सुन आयातमा उच्च वृद्धि र अर्कोतिर सुन धितो कर्जामा तीव्र विस्तारले अर्थतन्त्रमा दोहोरो र मिश्रित संकेत देखाएको छ । यसले नागरिक र व्यवसायीहरू अनिश्चित आर्थिक परिवेशमा सुरक्षित विकल्प रोज्न थालेको देखाउँछ। उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त रहँदा सुनजस्ता निष्क्रिय तर सुरक्षित सम्पत्तिमा झुकाव बढ्नु अर्थतन्त्रका लागि दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्छ।

तर बैंकहरूको दृष्टिकोणबाट हेर्दा, न्यून जोखिमयुक्त कर्जा विस्तारले खराब कर्जा (NPL) नियन्त्रणमा राख्न सहयोग पुग्न सक्छ। समग्रमा, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिले नेपाली अर्थतन्त्र, आयात संरचना र बैंकिङ प्रणालीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।