काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागका अनुसार, सो अवधिमा मुलुकले ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको आयात र १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँको निर्यात गरेको छ।

परिणामस्वरूप, ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख रुपैयाँ बराबरको व्यापार घाटा देखा परेको छ। देशसँग प्रमुख व्यापारिक साझेदार भारतसँग ६ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र १ खर्ब ३७ अर्ब ५१ करोड ७४ लाखको निर्यात हुँदा चार खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख बराबरको व्यापार घाटा देखिएको छ।

चीनसँगको व्यापारमा दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र ९० करोड १ लाखको निर्यात हुँदा दुई खर्ब ३४ अर्ब ४८ करोड २२ लाख घाटा देखिएको छ। त्यस्तै, अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग ३९ अर्ब ७७ करोड ९८ लाख, इन्डोनेसियासँग १२ अर्ब ६४ करोड ४५ लाख बराबरको व्यापार घाटा रहेको छ।

व्यापार नाफा बढी रहेका मुलुकमा रोमानियासँग पाँच करोड ५२ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्याण्डसँग दुई करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार नाफा देखिएको छ। सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ छन्। सो अवधिमा ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँ बराबरको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र ३१ अर्ब ८५ करोड ९ लाखको खाना पकाउने ग्यास आयात भएको छ।

अन्य प्रमुख आयात वस्तुमा ३१ अर्ब ९ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, २१ अर्ब ३२ करोड ६१ लाखको स्मार्टफोन, ५९ अर्ब १३ करोड ८२ लाखको कच्चा सोयाबिन तेल र २१ अर्ब २० करोड बराबरको सुन रहेका छन्।निर्यातको पक्षमा, सोयाबिन तेल ६६ अर्ब ७८ करोड ८७ लाख, अलैँची ८ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल ५ अर्ब ७८ करोड र कार्पेट ५ करोड ७१ लाख ८८ हजार ६९० रुपैयाँ बराबर निर्यात भएको भन्सार विभागले जनाएको छ।