काठमाडौँ । ह्वाइटगोल्ड मल्टी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ प्रस्ताव अनुमोदनका लागि वार्षिक साधारण सभा आह्वान गरेको जनाएको छ।
फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ३ गते बिहान ९ बजेदेखि काठमाडौँको बागबजारस्थित होटल हार्दिक मा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पेश गरी पारित गर्ने कार्यसूची तय गरेको छ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल तथा अनुमोदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू समेत प्रस्तुत गरिने भएको छ । कम्पनीले प्रस्तावित सबै विषयमा शेयरधनीहरूलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।







