काठमाडौं । भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकले आफूहरूले पाउनुपर्ने बक्यौता पारिश्रमिक उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

‘सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिबार’ अभियानमार्फत श्रमिकहरूले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा करिब ४० करोड रुपैयाँ बराबरको बक्यौता तत्काल भुक्तानी गर्न आग्रह गरिएको छ ।

नवलपुरको गैँडाकोटस्थित उक्त उद्योग २०६७ सालदेखि बन्द अवस्थामा रहेको छ । लामो समयदेखि पारिश्रमिक नपाउँदा कतिपय श्रमिकको निधनसमेत भइसकेको उल्लेख गरिएको छ ।

त्यसैगरी, उद्योगसँग सम्बन्धित करिब ६० बिघा जग्गाको उचित व्यवस्थापन गर्दै कृषि, उद्योग वा नमुना बजारका रूपमा विकास गर्न स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

श्रमिकहरूले पाँच दिनभित्र माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । अभियानका संयोजक गणेश सापकोटाले मागप्रति सम्बोधन नभए कडा कदम चाल्ने बताएका छन् ।