काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.४० प्रतिशतले कम हो ।

कम्पनीले समीक्षा अवधिमा ३६ अर्ब ७० करोड ५२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ, जुन गत वर्षको तुलनामा १२.९१ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिमा कम्पनीले ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ प्रिमियम आर्जन गरेको थियो ।

व्यवसाय विस्तार भए पनि कुल खर्च र दाबी भुक्तानी बढ्दा नाफामा दबाब परेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५२ अर्ब ३० करोड ६५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.५९ प्रतिशतले घटेको हो ।

यस अवधिमा दाबी भुक्तानी १२ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १०.१० प्रतिशतले बढेर ४९ अर्ब २० करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको जीवन बीमा कोष १३.७९ प्रतिशतले बढेर २ खर्ब ६७ अर्ब १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस्तै, महाविपत्ति कोष १ अर्ब ५४ करोड १९ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ ७९ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६.४० रुपैयाँ, नेटवर्थ १२६.३३ रुपैयाँ, पीई रेसियो ९२.८४ गुणा र औसत प्रतिफल दर ८.२७ प्रतिशत रहेको छ ।