काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम राया उक्त प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरेका हुन्।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा बढ्दो बेरुजुले सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर भएको संकेत गरेको बताएका छन्। उनले बेरुजु फछ्र्यौटमा जोड दिँदै सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीहरू अझ उत्तरदायी बन्नुपर्ने आवश्यकता औंल्याए।
राष्ट्रपति पौडेलले अनियमित खर्च नियन्त्रण गरी वित्तीय अनुशासन कायम गर्न सके मात्र सुशासन, दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए। उनले महालेखापरीक्षकको प्रतिवेदनले सम्बन्धित निकायलाई थप जवाफदेही बनाउने विश्वास पनि व्यक्त गरे।
उनका अनुसार बेरुजु न्यूनीकरण र आर्थिक अनुशासन कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण छ। साथै, संस्थागत क्षमता, पेशागत दक्षता र आन्तरिक सुशासनलाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।






