काठमाडौँ । मानव–वन्यजन्तुबीच बढ्दो द्वन्द्वलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सरकार सक्रिय बनेको छ । यही उद्देश्यसहित प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ ।

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा १५ सदस्यीय उक्त समिति गठन गरिएको हो । समितिको संयोजकत्व मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विज्ञले गर्नेछन् ।

टास्क फोर्सले वन्यजन्तुका कारण हुने क्षतिको अध्ययन, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन सुधारका लागि सिफारिस गर्नेछ ।

यसैगरी, सूचकका आधारमा २० वटा वडामा नमुना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ ।

संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिनेछ भने बाली क्षतिपूर्ति प्रणालीलाई अझ सरल, प्रभावकारी र समयसापेक्ष बनाउने दिशामा पनि सुझाव दिइनेछ ।

मन्त्री चौधरीले द्वन्द्व व्यवस्थापनलाई प्राथमिकतामा राख्दै टास्क फोर्सका सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।