काठमाडौं । काठमाडौं उपत्यकामा अनुमति बिना सञ्चालनमा रहेका ३२ वटा शैक्षिक परामर्श केन्द्र (एजुकेशन कन्सल्टेन्सी) विरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। शिक्षा ऐन उल्लंघन गरेको आधारमा उनीहरूलाई कानुनी कारबाहीका लागि अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार केही कन्सल्टेन्सीहरू दर्ता नै नगरी सञ्चालनमा थिए भने केहीले अनुमति लिए पनि विद्यार्थीसम्बन्धी कागजातमा किर्ते विवरण तयार गरेको पाइएको छ। त्यस्तै, सहीछाप र अभिलेखसम्बन्धी कानुनी प्रक्रिया उल्लंघन भएको पनि अनुसन्धानमा खुलेको छ।
यसैबीच थप ३७ वटा कन्सल्टेन्सीमाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। ती संस्थाहरूले दर्ता प्रक्रियामा रहेको कागजात पेस गरेपछि तत्काल मुद्दा नचलाइएको बताइएको छ। मुद्दा दायर गरिएका ३२ कन्सल्टेन्सीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।






