काठमाडौँ । नेपाल उद्योग परिसंघ अन्तर्गतको सीएनआई युवा उद्यमी मञ्चले “नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण” विषयमा राजधानीमा एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा देशको अर्थतन्त्रमा देखिएका संरचनागत समस्या र सम्भावित अवसरबारे छलफल गर्न युवा उद्यमी, उद्योगी तथा नीति विज्ञहरू सहभागी भएका थिए।

छलफलमा पूर्व मन्त्री अनिल कुमार सिन्हा र पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनाललगायतले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको पनि उपस्थिति रहेको थियो भने सहजीकरण उपाध्यक्ष निदा दून मल्लले गरेकी थिइन्।

मञ्चका अध्यक्ष मनिष श्रेष्ठले वर्तमान आर्थिक अवस्थाको यथार्थ मूल्यांकन नगरी भविष्यको दिशा तय गर्न नसकिने उल्लेख गरे। उनले अनुभवी नीति निर्माता र नयाँ पुस्ताका उद्यमीबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रममा संघीय वित्तीय व्यवस्थापनका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी चुनौती तथा व्यापारिक क्षेत्रका बदलिँदा प्रवृत्तिबारे विस्तृत बहस भएको थियो। प्रश्नोत्तर सत्रमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले तरलता अभाव, नीतिगत अस्थिरता र लगानीमैत्री वातावरणबारे चासो व्यक्त गरेका थिए।

कार्यक्रमको समापन निवर्तमान अध्यक्ष आशिष अग्रवालले गर्दै सहभागी र वक्ताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।