काठमाडौं । ‘नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति’ले आफ्ना माग पूरा नभए देशभर आन्दोलन चर्काउने घोषणा गरेको छ।

सोमबार काठमाडौंस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले १५ बुँदे माग सार्वजनिक गर्दै सिंहदरबार घेराउलगायतका चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

समितिका संयोजक खगेन्द्र पौडेलले वैकल्पिक पुनर्स्थापना र उचित व्यवस्थापन बिना डोजर प्रयोग गरेर लाखौं भूमिहीन तथा सुकुम्बासीलाई विस्थापित गरिएको आरोप लगाए। उनले जेठ ३ र ४ गते बुटवलमा सम्पन्न जनप्रदर्शन र राष्ट्रिय भेलाबाट आन्दोलनका कार्यक्रम तय गरिएको जानकारी दिए।

समितिका सदस्यहरूले डोजर अभियानका कारण ज्यान गुमाएका नागरिकलाई सहिद घोषणा गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

त्यस्तै, लालपुर्जा उपलब्ध गराउनुपर्ने, उचित व्यवस्थापन सुनिश्चित गर्नुपर्ने र अवैध रूपमा सञ्चालन भइरहेको डोजर अभियान तत्काल रोक्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।

यसैबीच, राष्ट्रिय जेनजी–नागरिक अभियानका प्रवक्ता विर्जन विश्वकर्माले बालेन शाह नेतृत्वको स्थानीय सरकारमाथि भूमिहीन समुदायलाई जबर्जस्ती विस्थापित गरेको आरोप लगाएका छन्।