काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका चार प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरू सार्वजनिक गरेका हुन्।
उनका अनुसार नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गर्ने लगायतका निर्णयहरू गरिएको छ।
बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रत्युत्तर पत्र स्वीकृत गरेको छ।
त्यस्तै, आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटो धानको प्रतिक्विन्टल ३६६० रुपैयाँ र मध्यम धानको ३८६० रुपैयाँ कायम गरिएको छ।
यसैगरी सहकारी क्षेत्रको अवस्थाबारे तयार पारिएको ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग–२०८२’ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरिएको छ।
यस्तै, नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णयसमेत बैठकले गरेको छ।






