वीरगञ्ज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं लाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई थुनामा नराखी मुद्दाको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको अदालत स्रोतले जनाएको छ।
यसअघि जेठ ४ गते प्रहरीले उनलाई वीरगञ्जस्थित एक होटलबाट नियन्त्रणमा लिएको थियो। सोमबार अदालतमा मुद्दा दर्ता हुँदा उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुरसम्बन्धी आरोप लगाइएको थियो।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंले युट्युबमार्फत महिलामाथि आपत्तिजनक अभिव्यक्ति दिएका साथै सेना र प्रहरीजस्ता राज्यका निकायप्रति अनुचित टिप्पणी गरेका थिए।
त्यस्तै, उनले एक अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क साम्पाङ एउटै समूहद्वारा सञ्चालन भइरहेको दाबी गरेका थिए। साथै, हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाका सन्दर्भमा विभिन्न विवादास्पद अभिव्यक्ति दिएका आरोप पनि उनीमाथि लागेको छ।
प्रसाईंमाथि सुरक्षा निकायका उच्च अधिकारीले सार्वजनिक गरेको सामग्रीबारे समेत आपत्तिजनक टिप्पणी गरेको अभियोग छ।






