काठमाडौं । स्वास्थ्य बीमा बोर्डले अस्पतालमा भर्ना भई उपचाररत बीमित नागरिकको सेवा बीचमै नरोकिने गरी निरन्तरता दिन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
बोर्डले आज सूचना जारी गर्दै जेठ १६ गतेअघि अस्पतालमा भर्ना भएका बिरामीलाई पूर्ववत् सुविधा प्रणालीअनुसार सेवा दिनुपर्ने स्पष्ट पारेको छ। सरकारी, निजी तथा सामुदायिक सबै स्वास्थ्य संस्थालाई उक्त व्यवस्था कार्यान्वयन गर्न आग्रह गरिएको छ।
निर्देशनअनुसार पहिले नै भर्ना भई उपचाररत बिरामीलाई डिस्चार्ज नगरी पुरानै सेवा निरन्तर उपलब्ध गराउनुपर्नेछ। तर जेठ १६ पछि नयाँ भर्ना हुने बीमितका लागि भने संशोधित प्रणालीअनुसार सेवा लागू हुने जनाइएको छ।
यसअघि जेठ १२ गते बोर्डले निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेकका बीमा सेवा स्थगन गर्न निर्देशन दिएको थियो, जसपछि देखिएको अन्योललाई सम्बोधन गर्दै पुराना बिरामीका लागि पुरानै व्यवस्था कायम गरिएको हो।
त्यसैगरी विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गतका सेवा, दर र दायरा यथावत् रहने बोर्डले जनाएको छ। बोर्डले सबै सेवा प्रदायकलाई निर्णय कार्यान्वयन गर्न र सेवाग्राहीलाई असुविधा नहुने गरी सेवा दिन आग्रह गरेको छ।






