काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ। बोर्डले ९ वटा रणनीति तय गरेको छ। स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण दोस्रो र बीमा कार्यक्रममा नागरिकको आवद्धतामा वृद्धि तेस्रो रणनीतिमा परेका छन्।

त्यसैगरी, स्वास्थ्य बीमा सञ्चालनमा दिगो वित्तीय व्यवस्थापन, सूचीकृत स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवामा सुधार, बीमा व्यवस्थापन सूचना प्रणालीको सुदृढीकरण, दाबी व्यवस्थापन प्रणालीको परिमार्जन, अनुगमन तथा मूल्यांकन प्रणालीमा सुधार र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य छन्।

स्वास्थ्य बीमा कार्यक्रममा आर्थिक वर्ष २०८०-८१ सम्म जम्मा ८१ लाख १४ हजार ५९४ जना (२८ प्रतिशत) नागरिक र २५ लाख १४ हजार २२० (३८ प्रतिशत) परिवार आबद्ध भएको बीमा बोर्डले जनाएको छ । कुल बीमितमध्ये ४८ प्रतिशतले स्वास्थ्य बीमामार्फत् स्वास्थ्य सेवा लिएका छन्।

आ.व. २०८०-८१ मा कुल बीमित नागरिक मध्ये ६२ प्रतिशतले नवीकरण गरेको बीमा बोर्डको दाबी छ । हाल सरकारी र सामुदायिक गरी कुल ४७७ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेका छन् । बोर्डको स्थायी संरचना स्वीकृत भइ नसक्दा विभिन्न व्यवस्थापकीय समस्या खेप्नुपरेको बोर्डले जनाएको छ।

स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको प्रावधान अनुसार औपचारिक क्षेत्रलाई बीमाको दायराभित्र समेट्न नसक्दा स्वास्थ्य बीमाको वित्तीय दिगोपनामा समस्या देखिएको विज्ञ बताउँछन् । बीमितले समयमा स्वास्थ्य सेवा तथा औषधि नपाउनु, बीमा गरेका र बीमा नगरेका बिरामीको सेवामा फरक हुनु, थप उपचारका लागि ठुला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजात सहज नपाउने जस्ता कारणले बीमा कार्यक्रमप्रति आकर्षण घट्दै गएको छ ।

स्वास्थ्य बीमा राम्रो अवधारणा भए पनि उद्देश्य अनुरूप नागरिकले सेवा नपाउँदा कार्यक्रमको प्रभावकारितामाथि नै प्रश्न उब्जिएको स्वास्थ्य विज्ञहरू पनि स्वीकार गर्छन् । बोर्डले पञ्च वर्षीय रणनीतिक मार्गचित्रमा गुणस्तरीय स्वास्थ्य सेवाप्रति बीमित असन्तुष्टि रहँदा नागरिकले नयाँ बीमित बन्ने र नवीकरण घट्दै गएको स्वीकार गरेको छ।