काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अत्यधिक ठूलो र महत्त्वाकाङ्क्षी भएको भन्ने आलोचना अस्वीकार गरेका छन्।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटको आकारलाई कुल ग्राहस्थ उत्पादन (जीडीपी) सँग तुलना गर्दा यो राज्यको क्षमता अनुरूप रहेको बताए। उनका अनुसार प्रस्तावित बजेट जीडीपीको करिब २८.५ प्रतिशत मात्र रहेको छ, जसलाई सन्तुलित र यथार्थपरक मान्नुपर्ने उनले उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले अर्थशास्त्रमा निरपेक्ष रकमभन्दा सापेक्ष अनुपातलाई महत्त्व दिइने बताउँदै करिब २१ खर्ब रुपैयाँ आसपासको बजेटलाई मात्र ठूलो भनेर व्याख्या गर्नु उचित नहुने धारणा राखे। उनले आगामी वर्षको जीडीपी करिब ७४ खर्ब ५८ अर्ब पुग्ने प्रक्षेपण गरिएको जानकारी पनि दिए।

उनले भूकम्प र कोभिड–१९ पछि बजेटको आकार अस्वाभाविक रूपमा बढेको उल्लेख गर्दै अहिले त्यसलाई नियन्त्रणमा ल्याएर पुरानै सन्तुलित ढाँचामा फर्काइएको बताए। विगतमा बजेट जीडीपीको ३७ प्रतिशतसम्म पुगेको भए पनि कार्यान्वयनमा समस्या आएको भन्दै अहिले ३० प्रतिशतभन्दा तल राखिएको स्पष्ट पारे।

यसैगरी, उनले बजेट राष्ट्रिय स्वतन्त्र पार्टी को चुनावी प्रतिबद्धतामा आधारित रहेको बताए। बजेटले सुशासन, शिक्षा–स्वास्थ्य सुधार, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा वैदेशिक नेपालीको पूँजी भित्र्याउने जस्ता पाँच प्रमुख क्षेत्रमा केन्द्रित रहेको उनले जानकारी दिए।