काठमाडौँ । मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि आह्वान गरेको छ । सरकारले आह्वान गरेको वार्तामा आफूहरू जानलाई तयारी रहेको एक मिटर ब्याज पीडितले जानकारी दिएका छन् ।

गृह मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर उनीहरूलाई वार्तामा आउन आग्रह गरेको छ । सोही आधारमा मिटर ब्याज पीडितहरूलाई सरकारसँग वार्तामा आउन आग्रह गरेको हो ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति केन्द्रीय सचिवालय सदस्य अजय कार्कीले वार्तामा जाने विषयमा छलफल भइरहेको जानकारी दिएका छन्। समितिमा छलफल भएको र वार्ताका लागि टोली गठन गर्ने कार्य भइरहेको उनको भनाइ छ ।

समितिमार्फत देशभरका मिटरब्याजी पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदल यात्रा गरेर काठमाडौँ आइपुगेका पीडितहरू यति बेला सिंहदरबार तथा भृकुटीमण्डप केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका लागि विभिन्न जिल्लाबाट एक हजार जनाको हाराहारीमा पीडितहरू काठमाडौँ आएका हुन् । उनीहरू भृकुटीमण्डपमा बसेर आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले सिंहदरबार मार्च पास गर्नुका साथै विरोध सभा समेत आयोजना गर्दै आएका छन् । उनले अविलम्ब उनीहरूका माग सम्बोधन गर्ने गरी उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन्।