काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमालेख (बीमापोलिसी) आफूहरुले बिक्री गर्न पाँउनु पर्ने माग राख्दै आएका छन् । ठिक यही समयमा नेपाल बीमा प्राधिकरणले भने सो कुरामा सहमति जनाएको हो ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमालका अनुसार कृषि बीमा पनि लघु बीमा भित्रै पर्ने भएकाले उक्त प्रोडक्ट लघु निर्जीवन बीमा कम्पनीहरुले माग गरेका हुन् ।

सीईओ रिमालले आर्थिक भ्वाईससँग भने,‘हामीले कृषि बीमाको प्रोडक्ट माग्नुको कारण अहिले बीमा बजारको आवश्यक या भनौ नागरिकहरुबाट माग भएकै कारणले हो । यहाँहरुले पनि झट्ट हेर्दा कृषि बीमा लघु बीमा कम्पनीहरुले गर्नु पर्ने नै देख्नु हुन्छ होला । एक त लघु बीमा नै गरिब र न्यून आयस्रोत भएका नागरिकहरुमा लक्षित छ जहाँ न्यून आय भएका अधिकांश किसानहरु लघु बीमा गर्न इच्छुक पनि हुनुहुन्छ । अर्को भनेको हामीले बीमा सेवा प्रवाह गर्ने ठाउँ पनि ग्रामिण तह नै भएकाले त्यहाँको बजार सुहाउँदो प्रोडक्ट भनेको कृषि बीमा हो ।’

उनले कृषि बीमामा अथाह विषयहरु समेटिने बताएका छन् । कृषि बीमाको माध्यमबाट धेरै नागरिकहरुलाई बीमाको दायरामा ल्याउँन सकिने सीईओ रिमालको भनाई छ ।

यता नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने,‘बीमा भनेको बजारको माग अनुसार नै अघि बढ्ने व्यवसाय हो । लघु बीमा कम्पनीहरुले कृषि बीमा माग गर्नु जायज नै देखिन्छ । म त त्यही भन्छु । किनभने हामीसँग बीमा गराउँन बजार नै नभएको नि होइन । सबै कम्पनीहरुले नयाँ नयाँ ठाउँ खोज्नु, रचनात्मक प्रोडक्ट ल्याउँनु र नागरिकहरुको माग अनुसारको सेवा दिनु भन्ने हामीले बारम्बार भन्दै पनि आएको हो । त्यसैले अबको बजारमा कृषि बीमा लघु बीमाले गर्छु भन्दा त्यो त सुहाउँने कुरा नै हो । अब बजारको आवश्यकता अध्ययन गरेर सोही अनुसार बाटो खुलाउँछौं ।’

कार्यकारी निर्देशक पौडेलले बीमा कम्पनीहरुले एउटै व्यवसायमा खोसाखोस गर्ने भन्दा पनि आफ्नो दायरा बढाएर नयाँ नयाँ ठाउँमा जान सकेमा बीमा बजारले थप उचाई लिने बताएका छन् ।

त्यस्तै, यता केही पुराना तथा ठूला निर्जीवन बीमा कम्पनीहरुले लघु बीमा कम्पनीहरुलाई पुराना बीमा कम्पनीहरुले गरिरकेका बीमा व्यवसायमै केन्द्रित गराउँने भन्दा पनि छुट्टै नयाँ मोडेल अपनाएर काम गर्न आवश्यक रहेको बताएका छन्। उनीहरुले हालसम्म बीमा कम्पनीहरुले गर्न नसकेका कामका लागि नै लघु बीमा कम्पनीहरुले इजाजत पाएकाले नयाँ प्रविधि मैत्री ढंगबाट र अन्तर्राष्ट्रिय बीमा बजारको अभ्यासहरुलाई समेत आत्मसाथ गर्दै लघु बीमाको वोर्किङ गाईडलाइन तयार गर्नु पर्ने सुझाव दिएका छन्