काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । उनका अनुसार बैठकले तत्कालका लागि भण्डारीलाई सदस्यता दिने निर्णय मात्र गरेको हो भने अन्य विषयमा थप छलफल जारी रहनेछ ।

उपमहासचिव भट्टले केही अन्य एजेन्डामा छलफल भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको बताए । पार्टीका अनुसार आगामी बैठक जेठ ८ गते बस्ने तय गरिएको छ ।

गत वर्ष साउनमा एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । त्यसअघि एघारौं महाधिवेशनबाट पार्टी नेतृत्वमा सक्रिय हुने तयारीसँग जोडेर उनको राजनीतिक भूमिकाबारे पार्टीभित्र बहस हुँदै आएको थियो, जसपछि अध्यक्ष ओलीले सदस्यता नवीकरण नगर्ने निर्णय गरेका थिए । उक्त निर्णयमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल लगायतले समर्थन जनाएका थिए ।