काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरू गर्दै आएको आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् ।
बुधवार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएपछि किसानहरूले आन्दोलनलाई जारी राखेका छन् । आज उनीहरूले लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । उनीहरूले बुधवार डीडीसीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।
सरकारले विगतमा सहमति गरे पनि ७ महिनादेखि दूधको भुक्तानी नगरेको भन्दै किसानहरू आन्दोलित भएका हुन्। केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार गत वैशाखमा रकम थोरै भुक्तानी भए पनि लगातार भुक्तानी नहुँदा समस्या परेको बताए ।
किसानका अनुसार उनीहरूले अझै पनि ४ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी पाउन बाँकी छ । किसानहरूले बुधवार डीडीसीको कार्यालयमा तालाबन्दीको प्रयास गरेका थिए । यो विषयमा मन्त्री ज्वाला कुमारी साहले अर्थमन्त्रीसँग पनि छलफल गर्ने तयारी गरेकी छन् ।







