काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि चितवनको भरतपुर महानगरपालिकाले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ ।
यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख ८ हजार रुपैयाँ बढी हो । कुल बजेटमा एक अर्ब ८० करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान छ । प्रस्तुत बजेटमा अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, सङ्घ राजस्व बाँडफाँडबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा रु ५८ करोड २२ लाख ६७ हजार, जनसहभागिता श्रमदानबाट रु ५० करोड, बैङ्क मौज्दात रु १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ ।
चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहु वर्षीय ठेक्का भएका योजनाहरू समयमै सम्पन्न गर्नको लागि रु १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ । हरेक वडाको सन्तुलित विकासका लागि दुई प्रकारबाट वडा स्तरीय सिलिङ निर्धारण गरिएको छ। वडालाई न्यूनतम रु २ करोड ७४ लाख २८ हजार र अधिकतम रु २ करोड ९० लाख २ हजार गरी जम्मा वडा स्तरीय आयोजनाहरूमा रु ८२ करोड बजेट विनियोजन गरिएको महानगरको जानकारी छ ।







