काठमाडौं। भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ।

महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन्। वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरिएको हो।

सार्वजनिक तथ्यांक अनुसार हाल ३० हजार पाँच सय ५५ जना विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका छन्। कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३ दशमलव ८८ प्रतिशत महिला छन्।

ब्राम्ह्ण–क्षेत्री १७ हजार पाँच सय ६५ जना वैदेशिक रोजगारीमा गएको कार्यपत्र प्रस्तुत गर्दै उनले आदिवासी, जनजाति (पहाडी) आठ हजार पाँच सय ७२ जना, आदिवासी जनजाति (मधेसी) एक हजार ७२ जना, अरु दलित समुदाय र अन्य समुदायका रहेका बताए।

महानगरपालिकाको समाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाकोक तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जानेको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे।