काठमाडौँ। ८ वटा विकास बैंकमध्येमा गत आर्थिक वर्ष २०८०-८१ का लागि कामना सेवा विकास बैंकले सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ ।

आठवटै विकास बैंकहरुले प्रकाशित गरेका चौथो त्रैमासको वित्तीय विवरणको आँकडा अनुसार सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवाको देखिएको हो । उक्त बैंकले आफ्ना सेयरधनीहरुलाई ११.९१ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

अग्रस्थानमा देखिएको कामना सेवाको पछि १०.५२ प्रतिशत क्षमतासहित गरिमा विकास बैंकले पछ्याएको  छ । लाभांश क्षमताको दोस्रो नम्बरमाको गरिमाको प्रतिसेयर आम्दानी, खुद नाफा लगायतका केही सूचकमा भने सबै विकास बैंकको भन्दा अग्रस्थानमा देखिएको छ ।

विकास बैंकमध्ये गरिमा र मुक्तिनाथ विकास बैंकले मात्र १ अर्ब बढी नाफा कमाएका छन् । मुक्तिनाथले १२७ करोड नाफा कमाउँदा इपीएस भने १८.१५ रुपैयाँ रहेको छ । खराब कर्जा अनुपातको हिसाबले मुक्तिनाथ सबैभन्दा सुविधाजनक अवस्थामा देखिएको छ । यो बैंकको खराब कर्जा अनुपात २.२६ प्रतिशत मात्र रहेको छ । मुक्तिनाथको लाभांश क्षमता भने ४.७१ प्रतिशत मात्र रहेको छ ।

चौथो त्रैमाससम्ममा गरिमाको प्रतिसेयर आम्दानी २० रुपैयाँ, खुद नाफा ११३ करोड रुपैयाँ र खराब कर्जा अनुपात २.८९ प्रतिशत रहेको छ। गरिमा र मुक्तिनाथपछि साइन रेसुंगा डेभलपमेन्ट बैंकले ६९.७४ करोड खुद नाफा कमाएको छ। यो बैंकको इपीएस १४.७३ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ३.४३ प्रतिशत छ।

लाभांश क्षमता भने ८.१२ प्रतिशत रहेको छ । लाभांश क्षमताको हिसाबले राष्टियस्तरका विकास बैंकमा साइन तेश्रो स्थानमा देखिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले ५२ करोड नाफा कमाउँदा इपीएस १५.१७ रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात ४.०८ प्रतिशत रहेको यो बैंकको लाभांश क्षमता ५.१८ प्रतिशत रहेको छ ।

त्यस्तै ज्योति विकास बैंकमा सबैभन्दा धेरै खराब कर्जा थुप्रिएको देखिएको छ । यो बैंकको खराब कर्जा अनुपात ४.९५ प्रतिशत, नाफा २४.६५ करोड, इपीएस ५.६१ रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा भने नेगेटिभ रहेको छ ।