काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले अधिकांश सूचकहरुमा वृद्धि भएको हो ।
यस समिक्षा अवधिमा कम्पनीले ३५ करोड ८ लाख २४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५९.९१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा २१ करोड ९३ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै ,कम्पनीको कुल बीमा शुल्क आम्दानी ७४.२० प्रतिशतले बढेर ६ अर्ब १८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ५५ करोड १८ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ८३.२७ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषको आकार समेत ३५.४७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १० अर्ब ९१ करोड ७६ लाख रुपैयाँ रहेको जीवन बीमा कोषमा गत आर्थिक वर्षसम्म अइपुग्दा १४ अर्ब ७९ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
चुक्तापूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष सञ्चिति २९ प्रतिशतले बढेर १८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ८.३८ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२७.८४ रुपैयाँ पुगेको छ ।







