काठमाडौँ । निश्चित मापदण्ड सहित अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ।
चालु आर्थिक वर्षमा दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सहमति दिइएको हो ।
उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले दुग्ध विकास संस्थानमा ऋणको रुपमा लगानी गर्ने भएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्ने अर्थको भनाई छ ।
दुग्ध विकास संस्थानबाट दूधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि पटक पटक माग गर्दै आएका छन् । किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि मन्त्री रामनाथ अधिकारीसँग पटक पटक छलफल भएको छ ।







