काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ। गत पुस २८ गतेको मूल्यांकनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले बिहीबार १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो। आर्थिक वर्ष ०४९/५० देखि ०८१/८२ सम्मको घरजग्गा-सम्पत्ति करको मूल्यांकन गरेर कर दाखिला भएको हो।

संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक सङ्घसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले यसअघिनै पत्राचार गरिसकेको छ । महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा सङ्कलन प्रक्रियाबारे व्यवस्था गर्दै आएको छ। जसअनुसार नक्सा पास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा सम्पत्ति कर गणना हुने व्यवस्था रहेको राजस्व विभागका प्रमुख दीपक अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार “पत्राचारपछि करदाताहरू सम्पर्कमा आउने क्रम सुरु भएको र यो सकारात्मक पक्ष भएको बताए । आर्थिक ऐनले गरेको बक्यौता कर असुलीसम्बन्धी व्यवस्थाबमोजिम राजस्व असुल गरिनेछ।” ऐनबमोजिम कर दाखिला नगर्ने करदातालाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक ३५ दिनको समय तोकी पत्र, इमेल, वा म्यासेजमार्फत जानकारी गराउने उनको भनाइ छ।