काठमाडौं– शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै दोस्रो दिन समेत आन्दोलित शिक्षकहरूलाई सरकारले वार्ताका लागि आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुलाई वार्तामा बोलाएको हो ।

उनीहरुले उठान गरेका विषयबारे मन्त्रालय जानकार रहेको समेत मन्त्रालयले जनाएको छ । ‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल शिक्षक महासङ्घले भने बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ । आज उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गरेका छन् ।