काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज १४ औँ दिन समेत सडक प्रदर्शन जारी राखेका छन् । सरकार र शिक्षकबिच दुई पटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका शिक्षक महासंघको भनाई छ ।
चैत २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलमा सुरु भएको आन्दोलन २ सातासम्मको शान्तिपूर्ण मागमा सरकारले कुनै चासो नदेखाएको भन्दै शिक्षकहरूले आक्रोश व्यक्त गरेका छन् । चैत २६ गतेदेखि शैक्षिक हडताललाई थप सशक्त रूपमा अगाडि बढाउँदै सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता बमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।
लाखौँ शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासीन बनेको उनीहरूले आरोप लगाएका छन् । संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरू विकल्प नरहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
शान्तिपूर्ण आन्दोलनबाट सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने नेपाल शिक्षक महासंघले बताउँदै आएको छ । गत वर्ष पनि यही माग राखेर शिक्षकहरूले आन्दोलन गरेका थिए । आन्दोलनपश्चात् २०८० साल चैत २० गते माग सम्बोधन गर्ने गरी सरकारसँग सहमति भएको थियो । तर सहमति भएको एक वर्ष पुग्दा समेत कार्यान्वयन गर्न सरकारले कुनै संकेत नदेखाएपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।