काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको हो ।

कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

भोलि अर्थात् वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदैछ । शिक्षक तथा विद्यालय कर्मचारीहरू १३ दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन् ।

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित उनीहरूले चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको संयोजनमा भइरहेको आन्दोलनअन्तर्गत चैत २५ गतेदेखि अनिश्चितकालीन शैक्षिक हडताल नै घोषणा गरिएको छ ।