काठमाडौं । सडक संघर्षमा तीन सातादेखि रहेका शिक्षकहरुले आज मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिने बताएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माइतीघर(बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेका छन्। उनले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेका छन्।

आन्दोलनलाई परिणाममुखी बनाउन धैर्य, संयम र अनुशासन कायम राख्नुपर्ने उनले बताएका छन्। आन्दोलन समितिकी संयोजक नानुमाया पराजुलीले सरकारले आफूहरूको मागलाई गम्भीरतापूर्वक नलिएको भन्दै यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने बताइन्।

थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै उनले ऐन ल्याउनुको साटो आफूहरुलाई अल्मलाउने र थकाउने रणनीतिमा सरकार लागेको भन्दै यसपटक रित्तो हात नफर्किने अडानबाट पछि नहट्ने प्रष्ट पारिन्।

यता , शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद बढेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । राजीनामापत्रमा स्वास्थ्य समस्या देखाए पनि प्रधानमन्त्री ओलीसँगको असन्तुष्टिका कारण उनी पद छोड्न बाध्य भएको मन्त्रालय निकट स्रोतको भनाई छ ।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिसँग संवाद गरेर माग पूरा गराउन भट्टराईले मन्त्रिपरिषद्मा पेस गरेको ७ बुँदे प्रस्तावप्रति प्रधानमन्त्री अनुदार बनेपछि उनले राजीनामा दिएको स्रोतको भनाई छ। विद्यालय शिक्षा विधेयक पारित गर्नेसहित शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने विषयमा उनले प्रस्ताव तयार पारेकी थिइन् ।