काठमाडौँ – वर्षा रोकिएर केही दिनयता निरन्तर घाम लागेसँगै काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ । आज काठमाण्डौको अधिकतम तापक्रम ३०–३२ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अघिल्लो दिन समेत काठमाण्डौको तापक्रम ३२ डिग्री सेल्सियस पुगेको थियो । हिजो सबैभन्दा धेरै भैरहवाको तापक्रम ४० डिग्री पुगेको छ । यस्तै सिमरा र जनकपुरको ३९, विराटनगर र धरानको ३७ डिग्री सेल्सियस पुगेको छ ।
प्रि–मनसुनको अवस्था रहेको र दुई तीन दिनयता पर्याप्त वर्षा नभएका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भेगमा तापक्रम बढेको मौसमविद्ले जानकारी दिएका छन् । तापक्रम वृद्धि मनसुन सुरु हुनुपूर्वको गतिविधि हो । यसलाई प्रि–मनसुनी गतिविधिकै रूपमा लिइन्छ । तापक्रम अझै बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । आज दिउँसो कोशी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।







