काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आइतबार राति सार्वजनिक गरेको हो ।
जस अनुसार, नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर भने यथावत् राखेको छ । आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ । “आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ।
नीतिगत दरलाई विद्यमान पाँच प्रतिशत, तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई साढे छ प्रतिशतमा यथावत् राखिएको छ,” समीक्षामार्फत राष्ट्र बैंकले भनेको छ, “विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत् राखिएको छ ।
वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय खुला बजार कारोबार उपकरणमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरूले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।”
त्यस्तै, विद्यमान सेयर धितो कर्जाको जोखिम भार पनि घटाइएको छ । हाल सेयर धितो कर्जामा रहेको कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ।
लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थालाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिने जनाइएको छ ।
कर्जाको जोखिम भारलाई इकिंत गर्दै नबिल बैंकको कामु सिइओ मनोज ज्ञवालीले अपेक्षित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आएको र यसले बैकहरुको पुजींकोष मा केही राहत मिल्ने धारणा राखेका छन् ।
ज्ञवालीले सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै अपेक्षित मौद्रिक नीतिको समीक्षा आएको र यसले शेयर लगानीकर्ताहरूका लागी सकारात्मक सन्देश प्रवाह गरेको जनाएका छन् ।







