काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले डिजिटल तथा अनलाइन ठगीका घटनाहरू बढ्दै गएको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सीईओ ज्ञवालीले बैंक खाताबाट रकम ट्रान्सफर गराएर ठगी भइसकेपछि मात्र सहयोगको लागि फोन तथा सन्देश आउने गरेको उल्लेख गरेका छन्।

उनका अनुसार घरमै बसेर पैसा कमाउने विज्ञापन, अत्यन्तै सस्तो मूल्यका अनलाइन सामान, नकिनिएको चिठ्ठा वा पुरस्कार जितेको बहाना, ह्याक भएका सामाजिक सञ्जाल खाताबाट आएको अनुरोध, तथा पासवर्ड र पिन कोड शेयर गर्ने जस्ता कारणले धेरै व्यक्ति ठगीको शिकार भइरहेका छन्।

ज्ञवालीले ठगीमा प्रयोग हुने बैंक खाता प्रायः ‘म्युल अकाउन्ट’ (गलत विवरण र पहिचान प्रयोग गरी खोलिएका खाता) हुने र प्रयोग गरिएका मोबाइल सिमका कागजातहरू समेत नक्कली हुने भएकाले वास्तविक ठगसम्म पुग्न कठिन हुने बताएका छन्।

सामाजिक सञ्चाल फेसबुकमा ज्ञवाली लेख्छन् । “मलाई बैंक खाताबाट Transfer गराएर ठगी भैसके पछी , Transfer भएको खाताको Detail सहित भनीदिनुपर्यो, हेरिदिनुपर्यो भनेर धेरै फोन र Message हरु आउछन। कसैले घरमै बसी बसी पैसा कमाउने विज्ञापनको लालचमा, धेरैले TikTok र अन्य माध्यमको पत्याऊनै नसकिने सस्तो सामान किन्ने लोभमा, कसैले कहिले नकिनेको चिठ्ठा परेको पैसा पाउने लोभमा, कसैले साथीको ह्याक भएको WhatsApp वा Messenger बाट अनुरोध आएको थाह नपाएर, कसैले आफ्नो Password र Pin-code शेयर गरेर आफ्नो पैसा गुमाऊछन।”

सीइओ ज्ञवालीले डिजिटल फ्रडका प्रकारहरु उल्लेख गर्दै डिजिटल फ्रडबाट बच्ने तरिकाहरु समेत सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

डिजिटल फ्रडका प्रकारहरू

१) फिसिङ (Phishing): नक्कली इमेल, एसएमएस, वा वेबसाइटमार्फत पासवर्ड, ओटीपी, कार्ड नम्बर जस्ता संवेदनशील जानकारी चोरेर गरिने ठगी ।

२) स्मिसिङ (Smishing): मोबाइलमा एसएमएस पठाएर बैंक, ई–सेवा, खल्ती, वा नक्कली सरकारी निकाय बनेर जानकारी माग्ने फ्रड।

३) भिसिङ (Vishing): फोन कलमार्फत आफूलाई बैंक कर्मचारी वा प्रहरी बताएर गोप्य विवरण माग्ने र उक्त सुचना दुरुपयोग गरी गरिने ठगी।

४) एटीएम / कार्ड फ्रड: ATM कार्ड क्लोनिङ, स्किमिङ, कार्ड हराएपछि दुरुपयोग गरी गरिने ठगी।

५) अनलाइन शपिङ फ्रड: नक्कली वेबसाइट, टिकटक वा फेसबुक पेजमार्फत अत्याधिक सस्तोमा सामानको विज्ञापन गरेर ग्राहक फसाउने, सामान पठाउनु पहिले पैसा पठाउन लगाउने अनि सामान नपठाई पैसा ठगी गर्ने।

६) सामाजिक सञ्जाल फ्रड: फेसबुक/इन्स्टाग्राम अकाउन्ट ह्याक गरेर पैसा माग्ने वा फेक अकाउन्ट प्रयोग गरी ठगी।

७) डिजिटल वालेट फ्रड: ई-वालेट ह्याक, फेक केवाईसी अपडेट लिंक वा ओटीपी चोरेर रकम निकाल्ने।

८) लगानी (Investment) फ्रड: छिटो धेरै नाफा दिने भन्दै क्रिप्टो, फोरेक्स, हाइड्रो, सेयर आदीको नाममा ठगी।

९) पहिचान चोरी (Identity Theft): अरूको नागरिकता, फोटो, बैंक विवरण प्रयोग गरी अवैध कारोबार।

१०) मालवेयर / स्पाइवेयर: मोबाइल वा कम्प्युटरमा भाइरस हालेर डेटा चोर्ने वा नियन्त्रण लिने अनि ठगी गर्ने।

डिजिटल फ्रडबाट बच्ने उपायहरू (Risk Mitigation Measures)

१) गोप्य जानकारी सुरक्षित राख्ने:

– ओटीपी, पासवर्ड, पिन कसैलाई पनि नदिने, बैंकले फोन वा एसएमएसबाट ओटीपी माग्दैन भन्ने सम्झनुहोस्।

२) शंकास्पद लिंक नखोल्ने:

– अनजान इमेल, एसएमएस वा फेसबुक लिंक क्लिक नगर्ने।

-वेबसाइटको URL राम्ररी जाँच गर्ने।

३) दुई तहको सुरक्षा (2FA) प्रयोग गर्ने:

-मोबाइल बैंकिङ, इमेल, सामाजिक सञ्जालमा Two-Factor Authentication सक्रिय गर्ने।

४) आधिकारिक एप र वेबसाइट मात्र प्रयोग गर्ने:

-Google Play Store वा Apple App Store बाट मात्र एप डाउनलोड गर्ने।

५) पासवर्ड बलियो बनाउने:

-सजिलो पासवर्ड प्रयोग नगर्ने।

-फरक–फरक खाताका लागि फरक पासवर्ड राख्ने।

६) मोबाइल र सिस्टम अपडेट राख्ने:

-मोबाइल, एप र एन्टिभाइरस सधैं अपडेट गर्ने।

७) अनलाइन किनमेल गर्दा सतर्कता:

-Cash on Delivery प्राथमिकता दिने।

-अत्यन्तै सस्तो मूल्य देखाएमा शंका गर्ने र पहिचान नगरी पैसा नपठाउने।

८) सामाजिक सञ्जाल गोपनीयता सेटिङ:

-अनावश्यक व्यक्तिगत जानकारी सार्वजनिक नगर्ने।

९) बैंक सूचना सेवा प्रयोग गर्ने

-SMS/Email Alert अनिवार्य राख्ने।

-शंकास्पद कारोबार देखिए तुरुन्त बैंकलाई जानकारी दिने।

१०) उजुरी गर्ने

-बैंक/वालेटमा तुरुन्त जानकारी दिने।

-नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी गर्ने।

-नेपाल राष्ट्र बैंकको हेल्पडेस्क प्रयोग गर्ने।

ज्ञवालीले अन्त्यमा लेखेका छन् । “डिजिटल प्रविधिले जीवन सजिलो बनाएको छ तर सावधानी नअपनाए डिजिटल फ्रडको जोखिम उच्च हुन्छ। सचेतना, सुरक्षित व्यवहार र समयमै सूचना नै डिजिटल सुरक्षाको मुख्य उपाय हुन्।होसियार रहनुस,ठगी बाट बच्नुस।”

डिजिटल कारोबार र अनलाइन माध्यमको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा त्यससँगै ठगीका जोखिम पनि बढिरहेको सीईओ ज्ञवालीको भनाइ छ।

उनले डिजिटल प्रविधिको सुरक्षित प्रयोग, व्यक्तिगत जानकारीको गोपनीयता र शंकास्पद गतिविधिप्रति समयमै सचेत हुनु नै डिजिटल फ्रडबाट बच्ने प्रभावकारी उपाय भएको उल्लेख गरेका छन्।

सर्वसाधारणले सतर्कता अपनाई बैंक तथा सम्बन्धित निकायसँग समयमै समन्वय गरे डिजिटल ठगीका घटनालाई न्यूनिकरण गर्न सकिने उनको निष्कर्ष छ।