काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ३ करोड ९२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.०७ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो आवमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको थियो। आम्दानी बढेसँगै कम्पनीको नाफा पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ६० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको पहिलो त्रैमासमा आर्जन गरेको ८४ लाख ९३ हजार रुपैयाँभन्दा ८९.१६ प्रतिशतले बढी हो।

उक्त अवधिसम्म कम्पनीले १ करोड १८ लाख रुपैयाँ सञ्चालन खर्च र १ करोड ६९ हजार रुपैयाँ गैरसञ्चालन खर्च व्यय गरेको छ। कम्पनीको चुक्तापूँजी ५९ करोड ४९ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषको आकार १६ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (EPS) १०.८० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२७.६० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य १६४.६७ रुपैयाँ, तरलता अनुपात २५.२८ प्रतिशत र मूल्य–आम्दानी अनुपात ७२.११ गुणा रहेको छ ।