काठमाडौँ । नेपालकै पहिलो बीमा कम्पनीको इतिहास बोकेको संस्था हो नेपाल इन्स्योरेन्स । यसको नेतृत्व चन्द्रसिंह साउदले गर्दै आएका छन् । २०८२ जेठ १२ देखि उनी अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका थिए । यसअघि साउद विसं २०७९ जेठ ३० देखि कम्पनीको सञ्चालकको रूपमा रहँदै आएका छन् । उनले संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आइरहेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) र बीमा क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि विशेषज्ञता हासिल गरेका उनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको पूर्व सीईओको जिम्मेवारी समेत सम्हालेका थिए । साथै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को पूर्व सीईओ र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अध्यक्ष थिए ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज समेतको नेतृत्व गरिसकेका साउदसँग बीमा तथा सेयर बजारबारे आर्थिक भ्वाइसका सम्पादक बिजय फुयाँलले गरेको कुराकानीको सम्पादित अंश :

लामो समय बीमा क्षेत्रमा काम गर्नु भएर त्यहीँबाट रिटायर्ड हुनुभयो, त्यही कम्पनीको सीईयो भएर अहिले फेरि त्यहि कम्पनीको अध्यक्ष भएर आफ्‌नो जिम्मेवारी बहन गरिरहनुभएको छ । तपाईंले बीमालाई कसरी हेरिरहनु भएको छ ? बीमाको आवश्यकता किन छ ? आम सर्वसाधारणले बुझ्‌ने भाषामा यसको महत्व भनिदिनुहोस् न ।

बीमा भनेको समाजमा व्यक्ति तथा वस्तुलाई विभिन्न जोखिम हुन्छन् । ती जोखिमका कारण धेरै ठुलो जनधनको क्षति हुन जान्छ ।  त्यस्तो किसिमको क्षतिको परिपूर्ती वित्तिय रुपमा गर्नको लागि स्थापना भएका कम्पनीहरुलाई बीमा कम्पनी भनिन्छ ।  संसारभरिमा बीमा कम्पनीले बजारबाट व्यक्ति वा संस्थाबाट जोखिम किन्छ, त्यो सबै जोखिम आफूले राख्न सक्दैन । त्यसकारणले बीमा कम्पनीहरुले बजारबाट उठाएको जोखिम आफूले राख्न सक्ने जति आफूले राख्छ, त्यो भन्दा बढिको जोखिम पूर्नबीमा मार्फत अन्तराष्ट्रिय बीमा बजारमा बिक्री गर्ने काम गर्छ । बीमा परम्परादेखि यसरी चलिआएको व्यवसाय हो । सामान्यतया हामीले बीमा व्यवसायलाई तीन भागमा बाड्छौँ, जीवन, निर्जीवन र पूर्नबीमा । त्यो अर्न्तगत लघु बीमामा पनि जीवन र निर्जीवन अलग अलग हुन्छन् ।

बीमा व्यवसाय भनेको आर्थिक उन्नति गर्ने र भएको नोक्सानीको क्षतिपूर्ति दिने व्यवसाय व्यक्ति संस्थालाई भयो । त्यसपछि बीमा व्यवसायले सानो-सानो रकम कोषको रुपमा जम्मा गर्ने र यसलाई लगानी गर्ने र त्यहाबाट प्रतिफल दिने काम गर्छ । साथै यसले राष्ट्रिय रुपमा भएको नोक्सानीलाई अन्तराष्ट्रिय स्तरबाट वा अर्को मुलुकबाट पनि क्षतिपूर्ति गराउने बीमा कम्पनीको परम्परागत काम हो ।

 कुनै पनि व्यक्तिले आफ्‌नो सम्पत्तिको बीमा गर्न कत्तिको आवश्यकता छ ? बीमा गर्दा हुने फाइदा के-के छन् ?

नेपाल सरकारले सवारी साधनको तेस्रो पक्ष बीमा गरेको अनिवार्य गरेको छ । त्यो भन्दा बाहेक हाम्रो देशमा बैंक तथा वित्तिय संस्थाले ऋणको रुपमा त्यो सम्पत्तिमा लगानी गर्छ । त्यसपछि उनीहरूले नै बीमा गर्नुपर्छ भनेका कारण ग्राहकले बीमा गर्ने गरेका छन् ।

पछिल्लो समय नेपालमा पनि विभिन्न घटना परिघटनाहरु हुँदै आए । जस्तै २०७२ मा भूकम्प आयो, त्यसपछि कोरोना महामारी र बेला बेलामा बाढिपहिरोको घटनाहरू भइरहेका छन् । त्यस्तै पछिल्ला दिनहरुमा जेन्जी आन्दोलनमा धेरै क्षति भयो । यो कारणले दिनप्रति दिन नोक्सान हुँदै गएको छ । यस्ततो अवस्थामा पहिलेको तुलनामा व्यक्तिगत रुपमा पनि बीमा गर्नेको संख्या बढ्दै गएको छ ।  यसबाट के फाइदा हुन्छ भने बीमा गर्ने बिमितलाई आर्थिक नोक्सानी पर्यो भने क्षतिपूर्ती पाउँछ निर्जीवन बीमामा । जीवन बीमामा अनिवार्य बचत जस्तै हो बीमा । बीमाको म्युचिरिटीपछि फिर्ता हुन्छ । त्यसकारण बीमा भनेको जोखिम हस्तान्तरण गर्ने विधि पनि हो । त्यसकारण कुनै नोक्सान भइहाल्यो भने ग्राहकको लागि फाइदा हुन्छ  ।

अहिलेको अवस्थामा बीमा बजारलाई कसरी हेरिरहनुभएको छ ?

अहिले निर्जीवन, जीवन, पूर्नजीवन र माइक्रो बीमा गरेर करीब ४०/५० वटा कम्पनीहरु छन् । यसमा सबै कम्पनीहरुले आ आफ्‌नो प्रोडक्टहरुको विकास गरेका छन् । बीमा व्यवसाय पनि पहिलेको तुलनामा अहिले धेरै विकास भइसकेका छन्, त्यो आकार, प्रिमियम वा अन्य सूचकमा । तर पनि यसमा सन्तुष्टि दिन सकिएको छैन । अझै नयाँ प्रोडक्टको विकास गर्नुपर्ने अवस्था हाामीले देखेका छौँ ।

त्यस्तै मुलुकमा विभिन्न प्राकृतिक प्रकोप पर्‍यो भने बीमा गर्ने मान्छेले मात्रै क्षतिपूर्ती पाउने, बीमा नगर्ने मान्छेले क्षतिपूर्ति नपाउने र सरकारको नै आश गर्नुपर्ने अवस्था छ । यसले सरकारको ढुकुटीबाट क्षतिपूर्ति दिनुपर्ने अवस्था छ ।, त्यसलाई बीमाको माध्यमबाट क्षतिपूर्ती दिनुपर्ने गरी निजी क्षेत्र मात्र हैन सरकारी क्षेत्र पिन लाग्नुपर्छ । जेन्जीको आन्दोलनबाट भएको क्षतिपछि सरकारले पनि आफ्‌नो सम्पत्तीको बीमा गर्न थालेको छ । अहिले गाडी व्यवसायबाट मात्रै भएपनि बीमा सुरु गर्नुपर्छ भनेर सरकार लागेको छ । जुन सकारात्मक हो ।

 सरकारले बीमा क्षेत्रको विकासमा गर्नुपर्ने कुराहरु के-के देखिन्छ ?

सरकारले गर्नुपर्ने कुरामा एउटा त प्राकृतिक प्रकोपको कारणले भएको नोक्सानमा त्यसको क्षतिपूर्ती दिनको लागि क्याटस्टकी फण्डको व्यवस्था गरेको हुन्छ । जस्तो विदेशहरुमा दैविक प्रकोप कोष भनेर बनाएको हुन्छ । यसमा निश्चित प्रतिशत सरकारले योगदान गर्छ र निश्चित प्रतिशत बीमा कम्पनीहरुले योगदान गर्छन् । हाम्रो मुलुकमा अप्रतक्ष्य रुपमा त्यो नभएको हैन, जस्तो बीमा प्रिमियमको ०.५ प्रतिशत बीमा प्राधिकरणले लिने गरेको छ । तर त्यो के हो भने खाली बीमा प्राधिकरणलाई मात्रै पैसा दिएको जस्तो भयो ।

यसबाहेक सरकारले आफ्नो मातहतमा रहेको सम्पूर्ण सम्पत्तिहरूको बीमा गराउनुपर्छ। सरकारी सम्पत्ति मात्र होइन जन धनसमेतको बीमा गराउने तर्फ सरकारले काम गर्नुपर्छ। त्यसपछि मात्रै सरकार सुरक्षित रहन सक्छ । मुलुकको आर्थिक उन्नतिमा बीमा कम्पनीहरूले निकै ठूलो फड्को मारेका छन्। विभिन्न बीमा कम्पनीहरूमा निकै ठूलो बीमा कोष रहेका कारण सरकारले पूर्वाधारका कामहरूमा बीमा कम्पनीहरूको योगदान रहने गरी लगानी गर्ने वातावरण मिलाउनुपर्छ यद्यपि विगतको तुलनामा अहिले धेरै परिवर्तन भएर विभिन्न क्षेत्रहरुमा लगानी भइरहेको अवस्था छ। अझै बाँकी रहेका कम्पनीहरूको क्षमता अनुसार परियोजनाहरुमा लगानीको वातावरण मिलाउनुपर्छ ।

तपाईँ आफैँ पनि नेपाल इन्सुरेन्सको अध्यक्ष हुनुहुन्छ। यो हिसाबले कुरा, गर्दा तपाईँहरूको प्रमोटर सेयर धनीहरूकोले गुनासो गरिरहेका छन् कि भनेको समयमा सेयर बिक्री गर्न सकिएको छैन भनेर । यो विषयमा तपाईंको भनाइ के हो ?

यो कुरा बीमा प्राधिकरणको भन्दा पनि कम्पनी ऐनको कुरा हो। राष्ट्र बैंक नियामक निकाय भएको र बीमा प्राधिकरण नियामक निकाय भएको संस्थाको शेयर ५१% कम्तीमा पनि प्रमोटर वा संस्थापक सेयर हुनैपर्ने व्यवस्था छ। बढीमा ४९% पब्लिक हुनुपर्ने प्रावधान छ । बीचमा केही बीमा कम्पनीहरूको सबै सेयर खरिद बिक्री पनि भए । धेरै लगानीकर्तालाई मर्का परेको पनि देखिन्थ्यो । मैले नेप्सेमा हुँदा पनि त्यो अनुभव गरे । अहिले चाहिँ त्यो रोकिएको छ। खास यो नीतिगत कुरा हो। प्रमोटर सेयरलाई पनि पब्लिक सेयर जसरी कारोबार गर्न पाए त त्यो धेरै राम्रो हो। त्यसका लागि बीमा प्राधिकरण कम्पनी रजिस्ट्रारको कार्यलाई नेपाल सरकार सबै बीमा कम्पनीहरू लगायत सबै सरोकारवालाहरू छलफल गरेर मात्रै अगाडि बढ्नुपर्छ। विद्यमान परिस्थितिमा त्यति सहज छ जस्तो मलाई लाग्दैन।

 नेप्सेको समेत नेतृत्वमा बसेर कार्यकाल पूरा गरिसक्नुभएको छ। सेयर बजार भनेको के हो, यो कस्तो खालको बजार हो ?

पुँजी बजार भनेको विभिन्न व्यक्ति वा क्षेत्रमा छरिएर रहेको सानोसानो रकमलाई एकत्रित गरेर कुनै उद्योग व्यवसाय मा लगानी गर्ने गर्न उठाउने बजार हो। सेयर बजार दुई किसिमको हुन्छ, एउटा प्राथमिक बजार, अर्को दोस्रो बजार ‌। पहिलो वा प्राथमिक बजार भनेको कम्पनीले सर्वसाधारण वा व्यक्ति व्यक्तिबाट लगानी उठाउँछ। दोस्रो बजार भने व्यक्ति-व्यक्तिका बीचमा सेयर किन बेच हुन्छ । आइपिओमा गइसकेको सेयर नेप्सेको प्लेटफर्म मार्फत व्यक्तिव्यक्ति वा संस्थामा किनबेच हुन्छ भने यो द्वितीय बजार हो।

संसार भर मा बिना ब्याजमा कुनै पनि संस्था अगाडि बढाउनका लागि लगानी संकलन गरिन्छ। हामीसँग अहिलेसम्म इक्विटीको मात्रै बजार छ। अरु प्रोडक्टहरू बजारमा आउन सकेको छैन । बिस्तारै विकास हुँदै जाने कुरा हो।

विगत दुई तीन वर्ष यताको सेयर बजारलाई हेर्ने हो भने खासै माथि जान सकेको देखिँदैन। बजार किन बढ्न नसकेको होला ?

सेयर बजारलाई प्रत्यक्ष रूपमा असर पार्ने कुरा राजनीतिक स्थिरता हो। राजनीतिक स्थिरता नभएसम्म त्यो मुलुकमा मान्छे लगानी गर्न आकर्षित हुँदैनन्। यो पहिलो रूपमा हामीले देख्दै आएको या भोग्दै आएको कुरा हो । दोस्रो कुरा भनेको पहिले पहिले सूचीकृत कम्पनीहरूको प्रतिफल असाध्यै राम्रो थियो। पछिल्ला दिनमा सुचीकृत कम्पनीहरूको प्रतिफल कम हुँदै गएको छ। एक त उनीहरूको आफ्नो व्यापार घटिरहेको छ त्यो कारणले प्रतिफल घटिरहेको छ। अर्को पहिलेको तुलनामा उनीहरूको पुँजीको आकार बढेको छ त्यो भनेको खाने मुख बढेको जस्तै हो । यस बाहेक हाम्रो देशमा सरकारको र नियामक निकायको नीतिहरूका कारण पनि सेयर बजार माथि जान सकेको देखिँदैन। यस्तै पुँजी बजारमा  इक्विटी मात्र नभएर हुनुहुँदैन। विभिन्न किसिमका औजारहरु यसमा उपलब्ध हुनुपर्छ । तरलता कर्जा लगायतका कुराहरू यसमा आउँछन्। ट्रेडिङ गर्ने कुरा पनि इन्ट्राडे वा अरु अक्सन लगायत हुनसक्छन् । यी सबैमा राम्रोसँग विकास नभैसकेको कारणले गर्दा वास्तवमा बजार बढ्न नसकेको हो।

सेयर बजार सुधारका लागि गर्नुपर्ने कामहरू के के हुन् ?

अहिले तत्कालै देखेको चाहिँ पुँजी बजारको विकासका लागि सबैभन्दा पहिले यस सम्बन्धी नीति स्थिर हुनुपर्छ। पुँजी बजार पुँजी बजारमै निर्भर हुनुपर्छ मौद्रिक नीतिमा होइन। यस्तो पद्धतिको विकास गर्न सक्नुपर्छ । यद्यपि मुद्रा नभईकन त चल्दैन तर पनि के हो भने हाम्रो देशमा बैंक वित्तीय संस्थामा जस्तै पब्लिकको निक्षेप लिगेर पब्लिकलाई नै कर्जा दिए जस्तै नागरिकको सेयर किनेर नागरिकलाई नै त्यो सेयर कर्जाको रूपमा दिने गरी नीति हुनुपर्छ।

यसबाहेक हाम्रो ग्यारेन्टी फण्ड लगानीकर्ता संरक्षण फण्ड लगायत हुनुपर्छ। पुँजी बजारमा आबद्ध संस्थाहरू ब्रोकरहरू लगायतले आफ्नो क्षमता अनुसारको काम गरिरहेका छन् र लगानीकर्ताले पनि काम त्यसरी नै काम गरिरहेको अवस्था छ। बजार घट्यो भने धेरै ठूलो नोक्सानी हुने अवस्था छ । त्यसकारण यी कोषहरु भयो भने सहज हुन्छ भन्ने लाग्छ।

नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सर्वोच्च अदालतमा पुगेको छ। यसको आवश्यकता छ ?

स्टक एक्सचेन्ज भनेको प्लेटफर्म उपलब्ध गराउने र प्रोडक्ट  विकास गर्ने संस्था हो । हाम्रो देशमा मुख्य सेयर सरकारको छ त्यो संस्थाले गर्न सक्ने काम सही ढंगले गर्न सकेको छैन। सरकारको संरक्षणमा भएको कारण नै त्यो संस्था कमजोर भएको हो भन्ने छ। भएको स्टक एक्सचेन्जलाई पुनर्संरचना गर्ने हो भने वास्तवमा नयाँ स्टक एक्सचेन्ज नभए पनि हुन्छ। तर मेरो अनुभवले के देखायो भने नेपाल स्टक एक्सचेन्जले अहिलेकै स्ट्रक्चरमा काम गर्न सक्दैन। सरकारले नेप्सेको पुनर्संरचना गर्नका लागि समिति बनाएको भने सुन्नमा चाहिँ आयो । तर त्यो समितिले पनि खास निर्णय गराउन सक्छ जस्तो लाग्दैन। ्

नेप्सेलाई मोडिफाइड गर्न सकेन भने अर्को स्टक एक्सचेन्ज चाहिन्छ। । किनभने हामीसँग इक्विटीको मात्र होइन डिबेन्चर बन्डको पनि ठूलो बजार छ। यसका लागि नेप्सले मेरै पालामा प्लेटफर्म बनाएको हो। तर अहिलेसम्म त्यसको कुपन रेटको कुनै अत्तोपत्तो छैन। नियामक निकाय धितोपत्र बोर्डले यसमा काम गर्दिनुपर्ने हो। यस्तै सोच्नुपर्ने अवस्था के छ भने हामीलाई लिक्विडिटी प्रोभाइडरको आवश्यकता छ। यो नहुँदा जहिले पनि बजारमा नोक्सान लगानीकर्ताले नोक्सानी सही रहनुपर्ने नाफा भयो भने सरकारलाई कर तिरिरहनुपर्ने तर नोक्सान भयो भने कुनै पनि संरक्षण नपाउने अवस्था रहिरहन्छ । अहिलेको स्टक एक्सचेन्जबाट नयाँ प्रोडक्टहरू अगाडि बढ्ने सम्भावना देखिँदैन। त्यसकारण नयाँ स्टकचेन्ज आयो भने नयाँ नयाँ प्रोडक्टहरु ल्याउन सकिन्छ। एउटै मात्र स्टक एक्सचेन्ज हुँदा यहाँ प्रतिस्पर्धा नै भएन। अर्को स्टक एक्सचेन्ज आयो भने दुई कम्पनी बीच स्वस्थ प्रतिस्पर्धा हुन्छ।

बजारमा साना तथा  लगानीकर्ताहरू अल्मलिएका देखिन्छन् घट्दा बेचिहाल्ने र बढ्दा उत्साहित भइहाल्ने उनीहरूको प्रविधि देखिन्छ । साना तथा नयाँ लगानीकर्ताहरूका लागि तपाईंको सुझाव के छ ?

लगानीकर्ता साना ठूला भन्दा पनि जसको लगानी गर्ने क्षमता छ उसले गर्ने हो। कुनै पनि लगानीकर्ताले आफ्नो क्षमता अनुसारको मात्रै लगानी गर्ने हो। तपाईंले बोक्न सक्ने भारी मात्रै बोक्ने हो बोक्न नसक्ने भारी बोक्नुहुँदैन।

बैंक वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्दा पनि आफ्नो तिर्ने क्षमता के कस्तो छ हेरेर मात्र लगानी गर्नुपर्छ। हामीले हेर्नुपर्ने एक मुख्य कुरा नै यही कुरा हो। अर्को भनेको कुनै पनि बजारमा यो कम्पनीको बढ्छ यो कम्पनीको घट्छ भनेर हामीले हेर्ने होइन। त्यो कम्पनीको क्षमता र सम्भावना हेर्ने हो। फन्डामेन्टल्ली कम पनि राम्रो भाको कम्पनीमा लगानी गर्ने हो। त्यसरी लगानी गरियो भने लगानीकर्तालाई घाटा हुँदैन। अर्को भनेको त्यस्तो संस्थाको सेयर किन्नुपर्छ जुन संस्थाबाट बैंकको ब्याज तिर्न सक्ने क्षमता वार्षिक डिभिडेन्डबाट आउनुपर्छ। पुरै ब्याज तिर्न नसकेपनि कम्तिमा वर्षभरि तिरेको ब्याजको आधा त आउनुपर्यो नि । यो हेरेर काम गर्यो भने नयाँ पुराना ठूला साना सबैको हितमा हुन्छ।

अहिले यहाँ हल्लाको भरमा धेरै लाग्ने प्रवृत्ति बढेको छ। फन्डामेन्टल्ली राम्रो नभएका कम्पनीहरूको मूल्य बढेको र राम्रो कम्पनीहरूको घटेको अवस्था छ। यसमा लगानीकर्ता सचेत हुनुपर्छ। यी कुराहरूमा ध्यान नदिए पुँजीबजारले प्रतिफल दिनेभन्दा आफूसँग भएको पुँजी पनि गुम्ने जोखिम रहन्छ।

तपाईँ आफै नेपाल इन्सुरेन्सको अध्यक्षमा हुनुहुन्छ र यसभन्दा अगाडि कर्मचारीकै रुपमा आबद्ध पनि हुनुहुन्थ्यो । नेपाल इन्स्योरेन्सको विगत कस्तो थियो र अहिले कस्तो देखिन्छ ?

नेपाल इन्सुरेन्स भनेको नेपालकै पहिलो बीमा कम्पनीको रुपमा रहेको कम्पनी हो। वित्तीय क्षेत्रमा नै पहिलो नेपाल बैंक लिमिटेड र दोस्रोमा नेपाल इन्सुरेन्स थियो। यो कम्पनीको काम कारबाहीहरू पहिले धेरै लामो समयसम्म नेपाल बैंकले सहायक कम्पनीको रुपमा हुर्किएको थियो।

आज पनि सेयर अंश घटेपनि नेपाल बैंकले निकै ठूलो सहयोग गरेको छ अहिले १५% लगानी नेपाल बैंकको छ बाँकी पब्लिकदेखि संस्थाहरूको समेत छ। यो कम्पनीले व्यवसायमा वा बजार हिस्सा त्यति बढाउन सकेको अवस्था छैन। विगतमा यसको पुँजी पुर्याउन पर्ने कामहरु भए । अहिले हाम्रो पुजी पनि पुगिसकेको परिस्थिति छ । अब आक्रामक रूपमा बजार मा जानुपर्छ भन्ने हाम्रो प्रयास छ। वित्तीय रूपमा हेर्ने भने अन्य कम्पनी को भन्दा राम्रो अवस्था छ। प्रतिफल पनि अरु कम्पनीकै हाराहारीमा छ। गत वर्ष इपीएसमा राष्ट्रिय बीमा कम्पनीपछि इन्डस्ट्रीमै दोस्रो धेरै हुने कम्पनीमा हामी थियौं। आगामी दिनमा यस कम्पनीले उन्नति प्रगति गर्नेमा शङ्का छैन।