काठमाडौँ। नेपाली कांग्रेसका नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मस्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको बिना शल्यक्रिया सफलतापूर्वक उपचार गरेर नयाँ जीवन प्रदान गरेको छ ।

ताप्लेजुङकी ५२ वर्षीया राधिका लिम्बूलाई केही दिनअघि निकै गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले केएमसीमा रेफर गरेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट एम्बुलेन्समार्फत अस्पताल आइपुग्दा उनको मस्तिष्कमा धेरै रगत जमिसकेको थियो । अवस्था यस्तो थियो कि उपचारमा केही घन्टा मात्रै ढिलो भएको भए ज्यान पनि तलमाथि पर्न सक्थ्यो । एनजीओग्राफी उपचार गर्दागर्दै नशा फुटेको अवस्थामा सफल उपचार गरिएको यो नेपालकै दुर्लभ घटना हो ।

नेपालको सन्दर्भमा डीएम न्युरोइन्टरभेन्सनिस्ट र बाइप्लेन क्याथल्याब प्रविधि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा मात्रै उपलब्ध छ । केएमसीमा ल्याइपुगेकै बित्तिकै न्युरो इन्टरभेन्सनिस्ट एवं इन्डोभास्कुलर स्ट्रोक विशेषज्ञ डा। अरुण पौडेलको नेतृत्वमा राधिकाको उपचार सुरु भयो । त्यतिबेलासम्म पनि बिरामीको मस्तिष्कमा रक्तस्राव भइरहेको थियो ।

त्यसपछि डाक्टरले बिरामीको खुट्टामा सानो प्वाल पारे र धमनीबाट तार अनि मसिनो पाइप छिराई मस्तिष्कको फुटेको बेलुनसम्म (एन्युरिज्म) पुर्‍याएर रगतको प्रवाह आवश्यक दिशामा पुर्‍याए ।

औषधि विज्ञानको भाषामा यो प्रक्रियालाई फ्लो डाइभर्टर एन्ड कोइलिङ भनिन्छ र मस्तिष्कमा रक्तस्राव भएका बिरामीको उपचारमा यो प्रविधि नै महत्वपूर्ण मानिन्छ । त्यसपछि रगतको प्रवाह सही दिशामा हुन थाल्छ र रक्तस्राव बन्द हुन्छ । उता रगत जमेको बेलुन बिस्तारै सुक्दै जान्छ अनि केही समयपछि हराएर जान्छ ।

कुनै ठूलो चिरफार नगरी अन्ततः साढे दुई घन्टाको डाक्टरहरूको अथक प्रयास सफल भयो र राधिकाले नयाँ जीवन पाइन् । यस्तो दुर्लभ उपचारपछि अस्पतालको आईसीयूमा स्वास्थ्य लाभ गर्दै घर फर्कने तयारी गरिरहेकी राधिकाले खुसी हुँदै अस्पताल तथा उपचारमा संलग्न डाक्टर तथा नर्सहरूलाई धन्यवाद दिएकी छन् ।

यो प्रविधिबाट उपचार गर्दा कुनै दाग बस्दैन । छोटो समयमै बिरामी सामान्य अवस्थामा फर्कन्छ । अस्पतालको बसाइ छोटो हुन्छ भने उपचार सफल हुने दर पनि बढी हुन्छ । उपचारको प्रभावकारिता धेरै हुन्छ । जुनसुकै उमेरका बिरामीको पनि यो प्रविधिबाट उपचार गर्न सकिन्छ । साथै शल्यक्रिया गर्न नमिल्ने दीर्घरोगी बिरामीको उपचार पनि यो प्रविधिबाट गर्न सकिन्छ र उपचारमा लामो समय खर्च गर्नु पर्दैन ।

आमाको सफल उपचारपछि छोरी अनुशाले भनिन्, “यस्तो प्रविधिबाट उपचार गर्न यसअघिसम्म विदेश नै जानुपर्ने बाध्यता थियो तर केएमसीमा यो सुविधा उपलब्ध भएपछि नेपालमै सम्भव भएको छ।”

काठमाडौं मेडिकल कलेज नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डाक्टर सुनील शर्माद्वारा सञ्चालित संस्था हो । डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण आफ्नो निर्वाचन क्षेत्रमा मात्र होइन, देशभर उत्तिकै लोकप्रिय छन् । डा. शर्मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट सिफारिस हुने पहिलो व्यक्ति हुन् ।