काठमाडौं। नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाट विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको छ। बिहीबार (माघ १) ललितपुरको कुपण्डोलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले संगठनात्मक तथा प्रशासनिक संरचनालाई व्यवस्थित गर्ने निर्णयहरू पारित गरेको हो।
बैठकबाट पूर्व सभापति शेरबहादुर देउवाको स्थानमा नवनिर्वाचित सभापति गगन थापाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरिएको छ। यससँगै पार्टीको औपचारिक तथा कानुनी कामकाज अब सभापति थापाको नेतृत्वमा अघि बढ्ने भएको छ।
त्यसैगरी, सभापति गगन थापाको संयोजकत्वमा घोषणापत्र समिति गठन गर्ने निर्णय गरिएको छ।
आगामी राजनीतिक कार्यदिशा र नीतिगत आधार तय गर्न घोषणापत्र समितिले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ, जसले पार्टीका आगामी निर्वाचन रणनीतिहरूलाई प्रभावकारी बनाउनेछ।
बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी देवराज चालिसेलाई दिने निर्णय पनि गरेको छ। साथै, नवनिर्वाचित कार्यसमितिसम्बन्धी आवश्यक कागजात निर्वाचन आयोगमा पेस गर्ने निर्णय गरिएको छ। केन्द्रीय कार्यसमितिको बैठकले हालै सम्पन्न महाधिवेशन सफल बनाउन देशभरबाट आएका महाधिवेशन प्रतिनिधि, सहयोगमा जुटेका नेता तथा कार्यकर्ताप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत सर्वसम्मत रूपमा पारित गरेको छ।






