काठमाडौँ। शिवम् सिमेन्टले खर्च व्यवस्थापनमा सुधार गर्दैै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेख्य नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२८.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै समयसम्म कम्पनीको खुद नाफा ५ करोड ६८ लाख रुपैयाँ मात्रै थियो।
बिक्री आम्दानी भने सामान्य घटेको छ। गत वर्ष ३ अर्ब १० करोड रुपैयाँ रहेको आम्दानी यस पटक ३ अर्ब ९ करोड रुपैयाँमा झरेको छ। तर बिक्री लागत घटेकाले Gross Profit बढ्दै ४० करोड १ लाखबाट ६५ करोड ४४ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
समीक्षा अवधिमा कम्पनीले १० करोड ८२ लाख रुपैयाँ अन्य आम्दानीसमेत गरेको छ। समग्र खर्चतर्फ कम्पनीले करिब २०.११ प्रतिशत कटौती गर्दै ४४ करोड ६४ लाखबाट ३५ करोड ६६ लाख रुपैयाँमा झारेको छ।
कम्पनीको जगेडा कोष ३ अर्ब १५ करोड रुपैयाँबाट बढेर ३ अर्ब ५३ करोड पुगेको छ। कुल चालु सम्पत्ति ४ अर्ब ३२ करोड र चालु दायित्व २ अर्ब ८४ करोड रुपैयाँ कायम छ।
यस अवधिसम्म प्रतिसेयर आम्दानी १२.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८०.३८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३५.१० रुपैयाँ र तरलता अनुपात १.५२ प्रतिशत रहेको विवरणमा उल्लेख छ।







