काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिमेन्ट कम्पनीहरुमध्ये शिवम् सिमेन्ट्स मात्र नाफामा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा शिवम् ५ करोड ३४ लाख रुपैयाँ घाटामा थियो । सूचीकृत बाँकी ३ सिमेन्ट कम्पनी भने घाटामा छन् ।

यस कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी १ अर्ब ६२ करोडबाट घटेर १ अर्ब ४० करोड कायम भएको छ । बिक्री लागत भने १ अर्ब ४५ करोडबाट घटेर १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।

कम्पनीको अन्य आम्दानी २ करोड १२ लाखबाट बढेर १० करोड ५७ लाख पुगेको छ । अन्य आम्दानी बढ्दा नाफा पनि बढेको हो । वित्तीय खर्च भने जम्मा २७ लाख रुपैयाँ रहेको छ । जुन सूचीकृत ४ कम्पनीहरुको भन्दा कम हो ।

शिवम् सिमेन्ट्सले शिवम् होल्डिङ्सबाट पनि लाभांश पाउने गरेको छ । होल्डिङ्सको होङ्शी सिमेन्टमा लगानी छ । पहिलो त्रैमासको रिपोर्ट अनुसार कम्पनीको ४ अर्ब ५८ करोड ५२ लाख रुपैयाँ लगानी सहायक कम्पनीहरुमा लगानी देखिएको छ ।

यता, यस सिमेन्टको जगेडा तथा अन्य कोषहरु अरु सिमेन्टको भन्दा धेरै छ । कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । सिमेन्टले प्रिमियममा आइपीओ बिक्री गरेको थियो । सोही प्रिमियममा संकलन गरेको रकम सेयर प्रिमियममा जम्मा छ ।

यस कम्पनीले उक्त रकमबाट सेयरधनीलाई लाभांश वितरण गर्न मिल्छ । उक्त रकमबाट मात्रै कम्पनीले सेयरधनीलाई १९ प्रतिशतसम्म लाभांश वितरण गर्न मिल्ने देखिन्छ ।

शिवम् सिमेन्ट सन् २००३ मा स्थापना भएको नेपालमा एक प्रमुख सिमेन्ट उत्पादक हो । यस कम्पनीले २०११ मा व्यावसायिक उत्पादन सुरु गर्‍यो र देशको सबैभन्दा ठूलो ग्रीनफिल्ड परियोजनाहरु मध्ये एक सञ्चालन गर्छ । जसको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन छ ।

कम्पनीले १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट बिक्री गरेको दाबी गरेको छ । यो सबैभन्दा धेरै सिमेन्ट बिक्री गर्ने कम्पनी पनि हो । साथै, यसले भारतमा पनि निर्यात थालिएको छ ।

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडको ओर्डिनरी पोर्टल्याण्ड सिमेन्ट उत्पादन गर्छ ।  जुन नेपाल स्टान्डर्ड (एनएस) ५७२ अनुसार छ । सन् २०१९ मा शिवम् सिमेन्ट नेपालमा पहिलो कम्पनी बन्यो जसले एनएस गुणस्तर पुरस्कार प्राप्त गर्‍यो ।

शिवम् सिमेन्टले चिनियाँ कम्पनी होङ्शी होल्डिङ्ससँगको साझेदारीमा होङ्शी-शिवम् सिमेन्टमा ३०% हिस्सेदारी राखेको छ । यसले नेपालको सिमेन्ट उद्योगमा यसको स्थान थप मजबुत बनाएको छ ।

कम्पनीको चुक्ता पुँजी, जगेडा तथा अन्य कोषहरु

शिवम् सिमेन्ट्सको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ छ । आव २०७७-७८ मा ४ अर्ब ४० करोड रुपैयाँ पुँजी थियो । सेयर प्रिमियममा कम्पनीको ९५ करोड ६२ लाख रुपैयाँ जम्मा छ । जुन आइपीओ बिक्रीबाट संकलन भएको हो । सोही रकमबाट यसले सेयरधनीलाई लाभांश दिन मिल्छ । अदर रिजर्भमा ३ अर्ब ५३ करोड १८ लाख रहेको छ ।

शिवम् सिमेन्ट्सले चालु आवको पहिलो त्रैमासमा १ करोड २७ लाख नाफा कमाएको छ । गत वर्ष यस कम्पनीले २५ करोड २ लाख नाफा आर्जन गरेको थियो । देशमा आर्थिक मन्दी, निर्माण व्यवसायमा मन्दी जस्ता कराणले समग्र सिमेन्ट कम्पनीहरुको व्यापारमा व्यापक गिरावट देखिएको छ । यदद्पि, शिवम् ले भने नाफा कमाउन सफल भएको छ । अरु सूचीकृत सिमेन्ट कम्पनीहरुसँग तुलना गर्ने हो भने पनि शिवम् सिमेन्टको नाफा धेरै छ ।

कम्पनले ३ महिनामा १ अर्ब ४० करोडको सिमेन्ट बिक्री गरेको छ । गत वर्ष ७ अर्ब ७० करोडको सिमेन्ट बिक्री गरेको थियो ।

प्रतिसेयर आम्दानी/ इपीएस/प्रतिसेयर नेटवर्थ

शिवम् सिमेन्ट्सको प्रतिसेयर आम्दानी मात्र घनात्मक छ । सूचीकृत अरु कम्पनीहरुको इपीएस ऋणात्मक छ । कम्पनीको प्रतिसेतर नेटवर्थ भने १८९.२८ रुपैयाँ देखिएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी छ । गत वर्षको रिपोर्ट अनुसार यसको लाभांश क्षमता डबल डिजिटमा देखिएको छ ।

टेक्निकल चार्ट हेर्दा के देखिन्छ ?

बोलिन्जर ब्यान्ड

-स्टक मूल्य लोओर ब्यान्ड नजिक कारोबार गरिरहेको छ । जसले प्रायः ओभरसोल्ड अवस्था वा सपोर्ट लेबलमा रहेको  देखाउँछ । ब्यान्ड साँघुरो हुँदै गएको छ । जसले अस्थिरता घट्दै गएको देखाउँछ र चाँडै नै मूल्यमा ठूलो परिवर्तन (ब्रेकआउट) हुने संकेत दिन्छ ।

एमएसीडी

एमएसीडी लाइन -३.७२, सिग्नल लाइन -३.७६ मा छ ।  जसले वियरिस क्रसओभर (मन्दी संकेत) देखाउँछ ।

एमएसीडी हिस्टोग्राम अलि नकारात्मक छ ।  जसले संकेत गर्छ कि डाउनट्रेन्ड (मूल्य घट्ने क्रम) जारी रहन सक्छ, जबसम्म एमएसीडी लाइन सिग्नल लाइन माथि जान्छ ।

आरएसआई

आरएसआईको मान ४०.१२ छ । जुन ओभरसोल्ड क्षेत्र नजिक छ ।

यसले संकेत गर्छ कि स्टक अझै बेच्ने दबाबमा छ । तर अहिले नै धेरै ओभरसोल्ड छैन । यदि आरएसआइ ३० भन्दा तल जान्छ भने बलियो किन्ने मौका हुन सक्छ ।

हाल सेयर बजारनै समग्र घटेको हुँदा सबै कम्पनीको भाउ घट्नु स्वभाविक नै मान्न सकिन्छ । यस्तो बेला राम्रा र फन्डामेन्टल कम्पनीमा लगानी गर्नु निकै उपयोगी हुने देखिन्छ । लाभांश क्षमता पनि भएको र लाभांश इतिहास पनि निकै राम्रो देखिएको शिवम् लगानीको लागि अर्को विकल्प हुन सक्ने जानकारहरुको बताउँछन् ।

कम्पनीको सेयर प्रिमियममा पनि थुप्रै रकम जम्मा छ । उक्त रकमबाट पनि कम्पनीले डबल डिजिटमा लाभांश दिन सक्छ । त्यसैले अहिले बजारनै साइवडेजमा चलेको बेला शिवम् जस्ता कम्पनीको सेयर खरिद गर्न सकिने देखिन्छ ।